कार्तिक २९, २०८३ आइतबार November 15, 2026

देवकालीन कान्तिभैरव जात्रा मध्यरातमा सुरु हुँदै

भातको देवता अर्थात् भाते द्यौलाई कान्ति भैरवको सौगात मानिन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : लिच्छविकालका राजा मानदेवको पालादेखि हालसम्म निरन्तर चलेको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको कान्तिभैरव जात्रा बुधबार मध्यरातदेखि गोकर्णेश्वर क्षेत्रमा सुरु भएको छ ।

वैशाख कृष्ण चतुर्दशीका दिन बुधबार स्थानीयवासीले आ–आफ्ना घर आँगनमा सरसफाइ गरेपछि मध्यरातमा कान्तिभैरवको जात्रा सुरु हुने परम्परा छ । चतुर्दशीका दिन आफ्नो टोल र छरछिमेक सफाइ गरेपछि मध्यरातदेखि वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिनसम्म कान्तिभैरवका जात्रा हुन्छ ।

वैशाखकृष्ण आमावास्याका दिन आज गोकर्णेश्वर नगर क्षेत्रका डबलीमा आमाछोरी र सासुबुहारीले संयुुक्तरुपमा सहभागी भएर सिन्दुर जात्रा हेर्नुपर्दछ भन्ने जनविश्वास छ । यसलाई कान्तिभैरवको सिन्दुर जात्रा पनि भन्ने गरिएको छ ।

यस दिन प्रत्येक व्यक्तिका लागि आमाप्रति श्रद्धा भक्तिसाथ सम्मान प्रकट गरी मीठो मसिनो खुवाउने भएकाले कान्तिभैरव जात्रालाई आमाप्रतिको सम्मानकारुपमा लिने गरिएको स्थानीयवासी राधाकृष्ण श्रेष्ठ बताउनुहुन्छ ।

प्राचीनकालदेखिको जात्रा विधि

जात्राका अवसरमा श्रीभैरव, श्रीकुमारी र श्रीगणेशको मूर्तिलाई आकर्षकरुपमा सिँगारिएको तीनतले खटमा विराजमान गराइन्छ । तीन वटा रथलाई धार्मिक विधिपूर्वक बाजा, गीत र नाचका साथ टोल परिक्रमा गराइन्छ । परिक्रमा गराउने क्रममा प्रत्येक चोक, दोबाटो र घर आँगनमा स्थानीयवासीले उत्साहकासाथ श्रद्धाभाव अर्पण गर्दछन् ।

चतुर्दशीका दिन बुधबार बिहान गुठियार थकालीले तामाको सानो गणेश मूर्तिलाई ढक्कीमा राखी गुप्तीगणेशमा लगेर राखेपछि दिनभर स्थानीयवासीले पूजा गर्दछन् । साँझमा गणेशको मूर्तिलाई परम्परागत बाजागाजासहित रथारोहण गरी गोकर्णेश्वरको प्रमुख पुरानो बस्ती गोकर्ण देशेको बीचमा लगी बिसाइन्छ ।

यसपछि गोकर्ण देशेको भैरव मन्दिरबाट भैरवको मूर्ति निकालिन्छ । निकालिएको मूर्तिलाई गुठियारका थकालीबाट बलि चढाई पूजा गरिन्छ । स्वर्णमय झण्डा र गजुरसहितको सिंहासनलाई तीनपटक मन्दिरको परिक्रमा गराइन्छ । सिँगारिएको तीनतले रथमा भैरवको मूर्तिलाई आरोहण गराइन्छ ।

यस अवसरमा बाजा बजाएर हर्षबढाइ गरिन्छ र रथलाई गोकर्णेश्वर क्षेत्रका टोल टोलमा घुमाइन्छ । यस वर्ष टोलटोलमा जात्रा घुमाउने तालिका वडा कार्यालयले नै सार्वजनिक गरेको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महत राससलाई जानकारी दिनुहुन्छ ।

भातको देवता अर्थात् भाते द्यौलाई कान्ति भैरवको सौगात मानिन्छ । तीन स्थानमा व्रत बसेका तीन गुठियारले एक÷एक पाथीे भातको देवता बनाउँछन् ।

पाक्ता पाक्तैको भातलाई झिकेर गुठियार थकालीले भातको मूर्ति बनाउनुपर्ने धार्मिक विधि छ । भातको अग्लो मूर्तिलाई दुईजनाले बोकेर तुलजा भवानीको मन्दिरमा लैजाने परम्परा रहेको स्थानीयवासी रामचन्द्र श्रेष्ठ बताउनुहुन्छ ।

मन्दिरमा भातको देवता लिन जात्रालु रथसहित जाने गर्दछन् । रथलाई तुलजा भवानीको परिक्रमा गराएपछि भातको देवता बोकी जात्रालुको जमात उत्तरबाहिनीस्थित भैरवी मन्दिरतिर लाग्दछ ।

जात्रामा बाजा बजाउने, रथ बोक्ने, चिराग बोक्ने, सुकुन्दा बोक्ने र भातको देवता बोक्नेलगायत काममा जात्रालुको भीड लाग्ने गरेको डेढ दशकअघिदेखि जात्रा हेर्दै आएका सेनेन्द्र सुवेदीको भनाइ छ ।

उत्तरबाहिनी कान्तिभैरव मन्दिर प्राङ्गणमा भाते देवतासहित भैरवको रथ पु¥याएपछि तीनपटक मन्दिर परिक्रमा गराइन्छ । रथ बिसाएपछि भैरवको प्रसाद लिन सहभागी बीचमा तँछाडमछाड हुने गर्दछ । पहिलोपटक प्रसाद पाउने मानिस निकै भाग्यमानी हुने धार्मिक विश्वास छ ।

आमाको मुख हेर्न आए भैरव

आमाको मुख हेर्ने दिन आज कान्तिभैरवको रथ भैरवीको मन्दिरमा पु¥याइनुलाई भैरव आमाको मुख हेर्न आएको भन्ने धार्मिक विश्वास यस क्षेत्रका मानिसमा रहेको यस जात्राका विषयमा त्रिभुवन विश्वविद्यालयबाट संस्कृति विषयमा  स्नातकोत्तर तहका लागि  शोध गर्नुभएका वटुराम भण्डारी बताउनुहुन्छ । रथ बिसाएपछि कर्माचार्य थरका पुजारीले बलिसहित पूजा गरेरमात्र सिन्दुर जात्रा गर्ने र रथ उठाउने परम्परा रहेको पनि उहाँ उल्लेख गर्नुहुन्छ ।

रथ उठाएर महतटोल, किसिगाल, भैरवचौर, तालिञ्चोक, चौतारा र नयाँपाटीलगायत स्थानमा पनि बलिसहित पूजा गरिन्छ । सिन्दुरजात्रा गर्दै रथलाई राजा मानदेवले बसाएको ऐतिहासिक गोकर्णदेशे अर्थात् लाछीमा लगी राखिन्छ ।

श्रीगणेश र श्रीकुमारीको रथ पनि त्यहाँ सिँगारेर राखिएको हुन्छ । श्रीभैरव, श्रीगणेश र श्रीकुमारीलाई तान्त्रिक विधिअनुसार पूजा गरिन्छ । तीनै देवीदेवताका रथलाई पुनःसिन्दूरजात्रा गरी गोकर्णेश्वरका विभिन्न क्षेत्रमा घुमाइन्छ ।

औँसीका दिन साँझ डबलीको दायाँबायाँ श्रीगणेश र श्रीकुमारी एवं बीचमा श्रीभैरवको रथ बिसाएपछि आमाको मुख हेर्ने दिनको जात्रा समाप्त हुन्छ । वैशाख शुक्ल प्रतिपदाका दिन केपूजा गरेपछिमात्रै रथ उठाइन्छ ।

गोकर्णेश्वर नगरपालिका–४ बाट प्रतिपदाका दिन मध्याह्न सिङ्गो बाँसको पाँच वटा आँख्लामा पाँचथरी कपडाका ध्वजा बाँधी बाजागाजासहित श्रीभैरवको तान्त्रिक पूजा गरेर  बलि चढाइन्छ ।

यसपछि ध्वजा भएको बाँसको टुप्पाले रथको गजुरमा जुधाएर रथ उठाइ डठुलाछीमा लगिन्छ । यस दिन गोकर्णेश्वर नगरपालिकाका ऐतिहासिक दस गाउँका मानिस पूजा सामग्रीसहित आएर पूजा गर्दछन् । यसरी पूजा गरेपछि स्थानीयवासीले आफन्त र नाता कुटुम्बलाई घरमा बोलाई भोज खुवाउने प्रचलन छ ।

वैशाख शुक्ल द्वितीया र तृतीयाका दिन पनि रथलाई गोकर्णेश्वर नगरपालिकाका विभिन्न क्षेत्रमा घुमाइन्छ । वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन साँझ भैरवलाई मन्दिरभित्र प्रवेश गराएपछि पाँचदिने जात्रा सम्पन्न हुन्छ ।

जात्रा सञ्चालनका लागि राजा मानदेवको पालादेखि नै प्रशस्त गुठीको व्यवस्था गरिएकामा हाल गुठी मासिएपछि पशुपति क्षेत्र विकास कोषअन्तर्गतको पशुपतिनाथ अमालकोट कचहरी र गोकर्णेश्वर नगरपालिकाले जात्राको खर्च व्यहोर्दै आएका छन् ।

जात्राका लागि सरोकार भएका निकायले छुट्याएको रकम कम हुँदा ऐतिहासिक महत्वको परम्परा धान्न मुस्किल परेको गुठियारको गुनासो छ ।

कान्तिपुर नामाकरण भएको जात्रा

यही जात्राको नामबाट कान्तिपुर नगरको नामाकरण गरिएको विश्वास गरिन्छ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक मिलनरत्न शाक्यले आफ्नो पुस्तकमा भैरव परम्पराबारे उल्लेख गर्नुभएको शोधकर्ता भण्डारी जानकारी दिनुहुन्छ । सो पुस्तकमा कान्तिभैरवकै नामबाट कान्तिपुर नामाकरण भएको विषय पनि उल्लेख गरिएको छ ।

वैशाख कृष्ण चतुर्दशीको मध्यरातिदेखि सुरु हुने जात्रामा स्थानीयवासीको ब्यापक सहभागिता हुन्छ । मध्यरातमा जात्रा हुने भएकाले चिरागको विशेष किसिमको बत्ती बाल्नु यो जात्राको सबैभन्दा आकर्षक पक्ष भएको स्थानीयवासी बताउँछन् । कान्तिभैरव जात्रा हेर्न राजधानीलगायत वरपर जिल्लावासी पनि आउने गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार