काठमाडौंः इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सलाई हराएको छ। जयपुरस्थित स्वामी मानसिंह स्टेडियममा सम्पन्न खेलमा राजस्थानले चेन्नाईलाई ३२ रनले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो।
जितका लागि २ सय ३ रन पछ्याएको चेन्नाईले ६ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो। चेन्नाईका लागि शिवम दुवेले ५२ रन बनाए। ऋतुराज गायकवाडले ४७ रन बनाए भने मोइन अली र रविन्द्र जडेजाले समान २३ रन बटुले। अजिंक्या रहाने १५ रन बनाएर आउट भएका थिए। बलिङतर्फ राजस्थानका आदम जाम्पाले ३, रविचन्द्र आश्विनले २ र कुलदीप यादवले १ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनाएको थियो। राजस्थानका लागि यशश्वी जयसवालले ७७ रन बनाए। यसैगरी ध्रुव जुरेलले ३४ तथा जस बटलर र देवदूत पाडिक्कलले समान २७ रन बनाए। सन्जु सामसनले १७ रन जोडे।
चेन्नाईका लागि तुशार देशपाण्डेले २ विकेट लिए। रविन्द्र जडेजा र महेश थिक्सनाले समान १/१ विकेट लिए। जितसँगै ८ खेलबाट ५ जित निकालेको राजस्थान १० अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। समान १० अंक जोडेका गुजरात र चेन्नाई तालिकाको दोस्रो र तेस्रो स्थानमा छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया