काठमाडौंः एसिसी मेन्स प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले कुवेतको सामना गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज बिहान ९ बजेदेखी हुने उक्त प्रतियोगितामा समूह ‘ए’ को विजेता नेपाल र समूह ‘बी’ को उपविजेता कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल समूह चरणको अन्तिम खेलमा बिहिबार कतारलाई ६८ रनले पराजित गर्दै समूह ‘ए’ को शीर्ष स्थानमा रही सेमिफाइनलमा पुगेको हो । नेपालले समूह चरणको पहिलो खेलमा मलेसियालाई छ विकेटलले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो ।
त्यस्तै नेपालले आफ्नो तेस्रो खेलमा साउदी अरेबियासँग वर्षाका कारण प्रभावित भएपछि अङ्क बाँडेको थियो । समूह ‘बी’ मा रहेको कुवेतले बिहिबार नै भएको समूह चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले पराजित गर्दै सेमिफाइनल नेपालसँगको भेट पक्का गरेको हो ।
आज नै हुने अर्को सेमिफाइनल खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ । समूह ‘ए’ को उपविजेता ओमानले समूह ‘बी’ को विजेता संयुक्त अरब इमिरेट्स ‘युएई’सँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र कुवेत तथा ओमान र युएईबीचको विजेता टोलीले फाइनल खेल्नेछन् भने पराजित दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल यही वैशाख १८ गते हुनेछ भने तेस्रो स्थानका लागि यही वैशाख १७ गते खेल हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया