वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

संविधान संशोधन गरेर शासकीय प्रणाली बदल्ने अभियानमा छौं : डा. बाबुराम भट्टराई (अन्तवार्ता)

राजनीतिक अस्थिरता अन्त्य गरौं, संविधानमा व्यवस्था गरेर राष्ट्रपतीय प्रणालीमा जाऔं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२०७३ सालमा नयाँ शक्ति गठन गरेर निस्कनुभयो । सपा, जसपा, नेसपा हुँदै चुनावमा प्रचण्डसँग सहकार्य गर्न पुग्नुभयो । आज–भोलि कहाँ हुनुहुन्छ ?

म आफ्नो फाइदाभन्दा पनि देशका लागि भनेर लागेको मान्छे हुँ । तीव्र आर्थिक विकास र समृद्धिको बाटोमा जान हाम्रो राजनीतिक प्रणाली राम्रो छ, तर शासकीय स्वरूप र निर्वाचन प्रणालीमा त्रुटि छ । त्यसैले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा नगएसम्म नेपालमा राजनीतिक स्थिरता हुँदैन, स्थिरता विना सुशासन हुँदैन, सुशासन विना समृद्धि हुँदैन भनेर हिंडिराखेको छु । (२०७२ मा नयाँ संविधान जारी भएपछि) दुई पटक चुनाव भए, तर कसैको बहुमत आएन नि ! जबसम्म निर्वाचन प्रणाली फेरिंदैन, तबसम्म राजनीतिक स्थिरता हुँदैन भन्ने विश्वास छ । अहिले पनि त्यही अभियानमा छु ।

एकता गर्ने भनेर माओवादीकै चिह्नबाट चुनाव लडेका होइनन् र नेसपाका नेताहरू ?

म कहिल्यै माओवादीमा फर्किएको छैन । बाबुराम भट्टराई देश र जनताका निम्ति आजीवन हिंडेको मान्छे, उसका पनि विचार, सोच त होलान् । तर माओवादीमा फर्क्यो, विलीन भयो भन्ने दुष्प्रचार भइराखेको छ । मिडियाले पनि तथ्य बंग्याइदिनुभएन, नेपाल समाजवादी पार्टी १० दलीय गठबन्धनको अंग छ ।

त्यो बेला तपाईं राष्ट्रपति बन्नेदेखि मानुषीका लागि काठमाडौंको टिकट लिएको आरोप पनि लाग्यो नि !

जसले सारा जीवन देश र जनताका लागि लगाउँदै के गरौं भनेर लागेको छ, उसैबारे यस्तो निम्नस्तरको कुरा नगरिदिए हुन्थ्यो । जसको चेतनास्तर नै छैन, उसले लगाइरहेको आरोप हो, यो ।

म राष्ट्रपतीय प्रणालीमा नभएसम्म चुनाव लड्दिनँ । प्रत्यक्ष राष्ट्रपतीय चुनाव गरौं, बाबुराम भट्टराईले अहिल्यै उम्मेदवारी घोषणा गर्छ । अमेरिकामा ८० वर्षका जो बाइडेन फेरि राष्ट्रपति उठ्छु भन्दैछन्, म त बल्ल ६९ वर्ष भएँ । ल छिटो राष्ट्रपतीय प्रणालीमा जाऊँ, बाबुराम भट्टराई चुनावमा उठ्छ । तर यस्तो अस्थिर प्रकारको संसदीय खिचडी, जहाँ कुर्सीको खेल मात्रै भइराखेको छ, बाबुराम भट्टराई त्यो खेलमा छैन ।

अर्को कुरा, मानुषीको आफ्नै इतिहास छ, आफैंले राजनीतिक स्पेस बनाइराखेकी छन् । मैले छोरीलाई उत्तराधिकारी बनाउन चाहिरहेको छैन । मैले साटेको भए त गोरखा लगिहाल्थें नि !

तर माओवादी र नेसपाबीच पार्टी एकता नै गर्ने भनेर त कार्यदल बनाएको हो नि, होइन ?

यो गलत हो । हामीले कहिल्यै पनि एकता गर्ने भनेका छैनौं । मैले त सुरुदेखि नै भन्दै आएको थिएँ, माओवादी पनि एउटा आन्दोलनको उचाइमा पुगेपछि ओरालोतिर लाग्यो । पछिल्लो समय प्रचण्ड पनि माओवादी आन्दोलनले एउटा विन्दुमा पुर्‍यायो, अब नयाँ ढंगले जानुपर्छ भन्ने ठाउँमा पुग्नुभएको छ । त्यसो हो भने नयाँ ढंगबाट सहकार्य गरौं भनेर सहकार्य गरेको हो । चुनाव साझा चिह्नमा लड्यौं, पार्टी अलग हो । हामी स्थिरता र समृद्धिका निम्ति कार्यकारी राष्ट्रपतिमा जानुपर्छ भन्ने वैकल्पिक अभियानमा छौं ।

शान्ति प्रक्रियाको काम नसकिएकाले त्यसलाई टुंगोमा पुर्‍याउन गठबन्धनमै छौं । तर म शान्ति प्रक्रियाका बाँकी काम पूरा गरौं, संविधानका त्रुटि सच्याऊँ र देशलाई समृद्धिमा पुर्‍याउन वैकल्पिक राजनीतिमा जाऔं भन्ने अभियानमै छु । गरिबी र बेरोजगारीको समस्या हल भएकै छैन, ५०औं लाख युवा विदेश पलायन भइराखेका छन्, श्रमलाई मात्र होइन, शिक्षाका लागि पनि विदेश पलायन भएका छन् । संरचनात्मक गम्भीर समस्या छन् नि !

कसले गर्दा निम्तिएको हो त यो समस्या ? निरन्तर सत्तामै रहेका दलहरूले गर्दा होला । तपाईं पनि हिजो सत्तामै हुनुहुन्थ्यो, आज सत्तालाई साथ दिइरहनुभएको छ !

सत्तालाई साथ होइन, सहकार्य हो । संविधान संशोधन गरेर शासकीय प्रणाली बदल्ने अभियानमा छौं, दलहरूलाई आग्रह गरिरहेका छौं । देशमा समृद्धि भयो भने पलायन रोकिन्छ । तर जति–जति चुनाव भयो, नेताहरूको समय खालि अंकगणित मिलाउने, सत्ताकै कुर्सी टिकाउने मात्र हुन थाल्यो । एकै कार्यकालमा ३/३ जना प्रधानमन्त्रीसम्म बाँडफाँड गर्ने भन्ने चालले देश बन्छ ? बन्दै बन्दैन । त्यसकै असन्तुष्टि नै अहिले व्यक्त भइराखेको छ ।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको लहर आउनुको कारण पनि त्यही हो ?

मैले २०७० सालमै नयाँ शक्तिको खाँचो छ भनेर लेखेको थिएँ । त्यो बेलै मैले यो परिस्थितिको आकलन गरेको थिएँ । विचार बोक्ने मान्छेले विचारकै बीउ रोप्ने हो । बीपी र पुष्पलालले संविधानसभा र गणतन्त्रको कुरा गरेका थिए, तर त्यो बेला सम्भव थिएन । हामीले पूरा गर्‍यौं। हामीले रोपेको विचारको बीउ अहिले उम्रिराखेको छ, भुल्काहरू उठिराखेका छन् । आगामी दिनमा अझै अगाडि बढ्दै जान्छ, तर हामीले भनेको ठाउँमै यो देश आइपुग्छ ।

आफ्नो पार्टी नेसपा र यसको एजेण्डालाई जनतामाझ परीक्षण नै गराउनुभएन नि !

मान्छेले रातारात परिवर्तन खोजिरहेका छन्, तर परिवर्तनका निम्ति वर्षौं लाग्छ । गणतन्त्र रातारात आएको होइन । म २०४७ देखि २०५१ सालसम्म सय/डेढ सय जनाको जुलूस लिएर गएर काठमाडौंमा नारा लगाउँदा कस्तो मूर्ख रहेछ, पागल रहेछ भन्थे । त्यो हामीले बीउ रोपेका थियौं र पछि झ्यांगिएर विद्रोह भयो । अब अर्को चरणमा जान पनि केही समय लिन्छ, २/४ वर्षमै हुँदैन । ऐतिहासिक परिवर्तनहरूले समय लिन्छ, हामी त्यही अभियानमा छौं । बाबुराम भट्टराई दृढतापूर्वक यसमै छ, कोसिस गरिरहेको छ, गरिरहन्छ । लामो यात्रामा कोही मुग्लिनमा छुटे होलान्, कोही साथमै होलान् । वैकल्पिक शक्ति चाहिन्छ भन्ने आवाज हामीले उठाएका हौं, त्यसैले धेरै खुसी छु म त ।

जनलहर देखिएका नयाँ पार्टी र तपाईंहरू एकैठाउँमा आइपुग्ने सम्भावना देख्नुहुन्छ ?

भर्खर त बनिराखेको छ, कसैले २/४ सिट ल्याएका छन्, कसैले १८/२० सिट ल्याएका छन् । यतिले पर्याप्त हुँदैन । विचारको बीउ रोपिएको छ, उम्रिंदै जान्छ, त्यसमध्येमा चाहिं कुन बिरुवा बढी स्वस्थ हुन्छ, उही बढी हुर्किन्छ । अरू त्यसमै समाहित हुनसक्छ, तर केही समय यो प्रतिस्पर्धात्मक रूपमै जान्छ ।

१० वैशाखको उपचुनाव परिणामपछि त परम्परागत दलहरूलाई सच्चिने कि सक्किने भन्ने दबाव परेको देखिन्छ । २०८४ को चुनावको दृश्य कस्तो होला ?

पार्टी भनेका साध्य होइनन्, खासखास ऐतिहासिक चरणमा देशको आवश्यकता पूर्ति गर्न बनेका साधन मात्र हुन् । पुराना राजनीतिक शक्तिहरूले आफ्नो कालखण्डमा आफ्नो भूमिका निर्वाह गरे, उनीहरूलाई धन्यवाद दिनुपर्छ ।

अब चाहिं देशमा समग्र हिसाबले एकताबद्ध गर्ने, भूराजनीतिक सन्तुलन मिलाउने, सुशासन दिएर विकास समृद्धि ल्याउने एजेण्डा छ, त्यसमा केन्द्रित हुने पार्टी चाहिएको छ । यसका लागि पुराना पार्टी रूपान्तरित हुनुपर्‍यो, नभए नयाँ पार्टी आउँछन् । मैले १० वर्ष अगाडि भनेको अहिले सावित भइराखेको छ ।

म नयाँ पुस्ताका साथीहरूलाई पनि भन्छु, अर्कालाई गालीगलौज गरेर मात्र हुँदैन । राजनीतिक अस्थिरता अन्त्य गरौं, संविधानमा व्यवस्था गरेर राष्ट्रपतीय प्रणालीमा जाऔं । तपाईंहरूले आवाज उठाउनुस् कि छिटोभन्दा छिटो राष्ट्रपतीय प्रणालीमा जाऔं । रामबहादुरको सट्टा श्यामबहादुर ल्याएर केही हुँदैन ।

अहिलेसम्म हेर्नुहुन्छ भने मैले भनेको भइराखेको छ । २०४६ सालपछि नै संविधानसभाबाट संविधान नबनाएसम्म, गणतन्त्र नआएसम्म हुन्नँ मैले भनेको थिएँ, पत्याएनन् । आखिर २० वर्षपछि त त्यहीं पुग्यो । अहिले मैले भनिराखेको छु, राष्ट्रपतीय प्रणालीमा नगइहुन्न । हेर्नुहोला, एक दिन मान्छेले बुझ्छन् । अनलाइनखबर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार