असार २५, २०८२ बुधबार July 9, 2025

पर्सामा कोरोना संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली समेत चलाउन सक्ने भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले यो निर्णय गरेको हो ।

बैठकको निर्णय नं. ३ मा भनिएको छ, ‘अब उप्रान्त भर्ना भएका संक्रमित भाग्न नदिन सुरक्षा निकायले उच्च सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने र यसका लागि सुरक्षा निकायलाई गोली समेत चलाउन सक्ने अधिकारी प्रदान गर्ने ।’

बिहीबार नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना संक्रमित फरार भएका थिए ।

बैठकले स्थानीय प्रशासन ऐनअनुसार ३० वैशाखदेखि लागू गरिएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउने पनि निर्णय गरेको छ ।

जिल्लामा कोभिड–१९ का संक्रमणका शंकास्पद व्यक्ति बढ्दै गएकाले तीमध्ये स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनको रुपमा पहिचान गरिएका होटलमा र अन्य सबै व्यक्तिलाई संकट व्यवस्थापन केन्द्रले तोकेको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने पनि बैठकको निर्णयमा भनिएको छ ।

साथै, कसैले तोकिएको सर्त र मापदण्ड अनुसार सुरक्षाकर्मीको निगरानीमा रहने गरी आफ्नै खर्चमा कुनै भवन भाडामा लिएर समूहमा बस्न चाहे पनि त्यसका लागि पनि अनुमति दिने निर्णय भएको छ ।

बैठकले कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङका लागि जिल्ला स्वस्थ्य कार्यालयको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सम्बन्धित स्थानीय तहको प्रतिनिधि रहेको कार्यदल गठन गर्ने पनि निर्णय गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया