काठमाण्डौंः फेवाताल किनारको सुन्दर रत्न मन्दिर गणतन्त्र दिवस अवसरमा सर्वसाधारणका लागि खुला भएको छ । २०६२-६३ को दोस्रो जनआन्दोलनसँगै नेपालमा आएको गणतन्त्रको १५ वर्ष पूरा भइसक्दासमेत नेपाल ट्रस्टको नाममा रहेको रत्न मन्दिर खुल्न सकेको थिएन ।
कहिले खुल्ने भन्ने बहुप्रतीक्षाको विषयको रहेको रत्न मन्दिर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती राईले सोमबार एक समारोहबीच सर्वसाधारण प्रवेशका लागि उद्घाटन गरे । उनले यो खुलासँगै समग्र पोखराको पर्यटनमा टेवा पुग्ने विश्वास लिए ।
पूर्वराजपरिवारको हिउँदकालीन दरबारका रूपमा चिनिने पोखराको रत्न मन्दिर खुलेसँगै समग्र पोखरा क्षेत्रको पर्यटनमा ठूलो सहयोग पुग्ने यहाँका पर्यटन व्यवसायीको पनि विश्वास छ ।
तत्कालीन राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नका नाममा पोखराको फेवाताल किनारमा रत्नमन्दिर बनाएका थिए । २०५८ को दरबार हत्याकाण्डपछि राजपरिवारका सम्पूर्ण सम्पत्ति नेपाल ट्रस्टको नाममा आएको थियो । जुन अहिले नेपाल ट्रस्ट ऐन, २०६४ कार्यान्वयनमा छ ।
शाहवंशीय राजाको इतिहाससँग गाँसिएको सो मन्दिर सर्वसाधारणका लागि खुला गर्नुपर्ने पोखरेलीको माग थियो । नेपाल ट्रस्टका सञ्चालक सदस्य योङजोम शेर्पाले देश विदेशका पर्यटकलाई लक्षित गरी गणतन्त्र दिवस अवसरमा पहिलोपटक दरबार खुला गरिएको बताए । उनले वर्षौंदेखिको प्रयासले सार्थकता पाएको जनाए । तर, दरबारको ऐतिहासिक सामग्रीको सुरक्षा, संवेदनशीलता तथा प्राविधिक कारण भित्री भाग भने सर्वसाधारणका निम्ति खुला नहुने उनको भनाइ छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया