वैशाख २५, २०८१ मंगलबार May 7, 2024

जनप्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

कक्षा १० सम्मको पढाई अनिवार्य रुपमा सरकारी विद्यालयमै पढाउनुपर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सिन्धुलीको घ्याङलेख गाउँपालिकाले सरकारी सेवा तथा सार्वजनिक पदमा रहेकाहरुले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको छ ।

गएको जेठ १० गते बसेको गाउँकार्यपालिकाको बैठकले शैक्षिक गुणस्तर सुधारका लागि भन्दै गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक र सार्वजनिक पदमा बसेकाहरुले आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो ।

पालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, शिक्षक र सार्वजनिक पदमा बसेकाहरुले आफ्ना छोराछोरीको कक्षा १० सम्मको पढाई अनिवार्य रुपमा सरकारी विद्यालयमै पढाउनुपर्ने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानले बताउनुभयो ।

गाउँमा सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारका कुरा गर्ने तर आफ्ना छोराछोरीलाई भने महंगो र सहरका सुविधि सम्पन्न निजी विद्यालयमा पढाउने प्रवृत्ति बढेको भन्दै यसलाई रोक्न यस्तो निर्णय गरिएको उपाध्यक्ष घलानको भनाई छ ।

‘शैक्षिक सुधारका लागि यो महत्वपूर्ण नै लागेर हामीले निर्णय गरेका हौ । यसको कार्यान्वयनमा केही चुनौती छ । केही व्यक्तिहरुले कसरी कार्यान्वयन गर्छौ हेरौला भनेर चुनौती पनि दिएका छन् । तर हामी यो कुनै पनि हालतमा कार्यान्वयन गर्नेछौं । चुनौतीको सामना गर्छौ’ उपाध्यक्ष घलानले भन्नुभयो । उहाँले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र सार्वजनिक पदमा बसेकाहरुको कक्षा १० सम्म पढ्ने बालबालिकाहरुको तथ्यांक निकाल्ने बताउनुभयो । घ्याङलेख गाउँपालिकामा ४५ वटा सरकारी विद्यालयहरु रहेका छन् । (नेस)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया