मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

‘ए’ डिभिजन लिग : चर्च ब्वाइज युनाइटेड क्लबलाई डेब्यु खेलमै उपाधि

मछिन्द्रले बाँकी दुई खेलमा विजयी हासिल गरेता पनि चर्च ब्वाइजलाई पछि पार्न नसक्ने पक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौँः ‘ए’ डिभिजन लिगमा बढुवा भएको सिजनमा नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा चर्च ब्वाइजले थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेल्दै एक खेल अगावै ‘ए’ डिभिजन लिगको उपाधि जितेको हो । चर्च ब्वाइजलाई उपाधि जित्न एक अङ्क मात्र आवश्यक थियो । थ्रीस्टारसँगको बराबरीले चर्च ब्वाइजलाई लिग विजेता बन्न सहज भयो ।

‘सी’ डिभिजनदेखि ‘ए’ डिभिजनसम्म लगातार विजेता बन्दै उपाधि जित्ने चर्च ब्वाइज क्लब दोस्रो टोली बन्यो । विसं २०६६ मा स्थापना भएको चर्च ब्वाइज क्लब ‘सी’ डिभिजन छनोटमा लगातार पाँचपल्ट असफल भएको थियो । त्यसपछि विसं २०७६ मा सी डिभिजन छनोटको उपाधि जितेको चर्च ब्वाइजले त्यसयता विसं २०७७ मा सी डिभिजन र विसं २०७८ मा ‘बी’ डिभिजनको उपाधि जित्दै ‘ए’ डिभिजनमा बढुवा भएको थियो ।

यसअघि मनाङ मर्स्याङ्दी क्लबले ‘डी’ डिभिजनदेखि ‘ए’ डिभिजनसम्म लगातार उपाधि जित्दै आफ्नो नाममा कीर्तिमानी बनाएको थियो । विसं २०३९ देखि २०४३ सालसम्म मानाङ मर्स्याङ्दी क्लबले ‘डि’ डिभिजनदेखि ‘ए’ डिभिजनसम्म लगातार उपाधि जितेको थियो ।

आजको खेलमा निकै प्रतिस्पर्धात्मक बनेको थियो । खेलको विभिन्न समयमा दुवै टोलीले गोलको अवसर प्राप्त गरेका थिए । तर दुवै टोलीबाट गोल हुन सकेन र चर्च ब्वाइज लिग विजेता बन्न सफल भयो । डबल राउन्ड रोबिन लिगको आधारमा सञ्चालन भएको उक्त प्रतियोगितामा चर्च ब्वाइजले २५ खेलबाट ४५ अङ्क बनाएको छ ।

दुई खेल खेल्न बाँकी मच्छिन्द्रको ३९ अङ्क छ । मछिन्द्रले बाँकी दुई खेलमा विजयी हासिल गरेता पनि चर्च ब्वाइजलाई पछि पार्न सक्दैन । चर्च ब्वाइज हेड टू हेडमा मच्छिन्द्रभन्दा अगाडि रहेको छ ।

चर्च ब्वाइजले लिगको २५ खेलमा १२ जित, ८ बराबरी र ४ मा हारको नतिजा निकालेको थियो । त्यस्तै समान २५ खेल नै खेलेको थ्री स्टारको २९ अङ्क भएको छ । थ्रिस्टार बाह्रौँ स्थानमा छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया