काठमाण्डौः अमेरिकाले मेक्सिकोलाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
अमेरिकाको जितमा क्रिष्टियन पुलिसिसले दुई तथा रिकार्डाे पेपीले एक गोल थपे । एलिजिएन्ट स्टेडियम लस भेगास नेभाडा अमेरिकामा शुक्रबार भएको खेलको ३७औं मिनेटमा पुलिसिसको गोलबाट अमेरिकाले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । दोस्रो हाफको शुरुमै पुलिसिसले टिमोथी वेहको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अमेरिकाको अग्रता दोब्बर पारे ।
६९औं मिनेटपछि खेल फरक बन्यो । फोलारिन बालोगनमाथि गम्भीर फउल गरेपछि रेफ्रीले सेजर मोन्टेसलाई सिधै रातो कार्ड दिदै मैदानबाहिर पठाएपछि मेक्सिको १० खेलाडीमा समेटिन पुग्यो ।
त्यसमै प्रतिवाद गर्दै हिंसात्मक आँचरण गर्न पुगेका वेस्टन म्याकिनेलाई रेफ्रीले सिधै रातो कार्ड दिएपछि अमेरिका पनि १० खेलाडीमा समेटिन पुग्यो । त्यसपछि ७८औं मिनेटमा रिकार्डाे पेपीले गोल गर्दै अमेरिकालाई ३–० ले अघि बढाए ।
खेलको अन्तिम समयमा होमोफोबिक नाराका कारण खेल केहीवेर रोकिन पुगेको थियो । अर्को सामूहिक झगडापछि मेक्सिकोका अर्टेगा र अमेरिकाका सर्जिनो डेस्टले रातो कार्ड पाए ।
स्टेडियममा पेय पदार्थहरू फालिएको थियो । त्यसपछि प्रशंसकहरूलाई होमोफोबिक नाराका कारण खेल निलम्बन गरिने चेतावनी दिइएको थियो ।
थप समय १२ मिनेट भएपनि खेलको बिग्रदो वातावरणका कारण रेफ्रीले अतिरिक्त समयको छैटौं मिनेट चलिरहँदा नै अन्तिम ह्वीसिल बजाएर खेल सकाइदिए ।
अब अमेरिकाले उपाधिका लागि सोमबार बिहान क्यानडासँग खेल्नेछ । क्यानडाले पानमालाई २–० ले हराएर फाइनलमा स्थान पक्का गरिसकेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया