काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा पनि सोमबारदेखि आरटी–पीसीआर विधिबाट कोरोना परीक्षण सुरु भएको छ ।
शिक्षण अस्पतालमा रहेको पीसीआर मेसिन लामो समयदेखि बिग्रिएका कारण सेवा सुरु भएको थिएन । कीर्तिपुरमा रहेको माइक्रोबायोलोजी विभागको ट्रफल रिसर्च प्रोगाममा रहेको पीसीआर मेसिन महाराजगञ्जमा सारेर सेवा सुरु गर्न लागिएको हो।
कीर्तिपुरकै टोलीले ८ दिन लगाएर ल्याब तयार पारेको हो । त्रिवि माइक्रोबायोलोजी विभागका आनुवाशिंक विज्ञ डा. गिरिराज त्रिपाठीले भने, ‘विश्वविद्यालयको उपकुलपतिको मौखिक निर्देशनमा ल्याब तयार पारिएको हो, हामीले दक्ष जनशक्ति पनि ल्याबमा खटाएका छौं ।’
मेसिन स्थानान्तरणपछि प्राविधिक कमिटी गठनसमेत गरेसँगै परीक्षण सुरु गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले समेत अनुमति दिइसकेको छ ।
एक पटकमा ९६ नमूनाका परीक्षण गर्नसक्ने मेसिनमा कम्तीमा २४ वटा नमूना जम्मा हुनासाथ परीक्षण थाल्ने नियम बनाइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया