असार २२, २०८२ आइतबार July 6, 2025

ललितपुर फुटबल संघलाई कार्यवाहक अध्यक्ष तोक्न एन्फाले काट्यो पत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले ललितपुर जिल्ला फुटबल संघलाई कार्यवाहक अध्यक्ष तोक्न पत्र काटेको छ।

महासचिव शिशिर विक्रम हमालको नाममा पत्र लेख्दै एन्फाले आगामी साधारणसभासम्मका लागि कार्यवाहक अध्यक्ष तोक्न पत्रमार्फत निर्देशन दिएको हो।

एन्फाले पठाएको पत्रमा पललितपुर जिल्ला संघका अध्यक्ष पुरुषेत्तम थापालाई जेठ ५ गतेदेखि नै लागू हुने गरी अध्यक्षको जिम्मेवारीबाट हटाएको उल्लेख छ।

थापालाई विधानको धारा ३ को उपधारा २ र धारा ३६ को उपधारा १४ बमोजिम आगामी एन्फाको साधारणसभासम्मको लागि फुटबल खेलसँग सम्बन्धित एन्फा र जिल्ला फुटबल संघ समेतको सम्पूर्ण गतिविधिहरुमा संलग्न हुन नपाउने गरी अस्थायी निलम्बन गरेको एन्फाले जनाएको छ।

सो समयसम्मका लागि ललितपुर जिल्ला फुटबल संघको कार्यसमिति बैठकको निर्णयबाट कार्यवाहक अध्यक्ष तोकेर एन्फामा जानकारी गराउन पनि भनिएको छ।

अध्यक्ष थापाले गत वैशाख २२ गते ‘एन्फा डे’को दिनमा उपाध्यक्ष पंकज विक्रम नेम्वाङले फुटबलका ए, बी र सी डिभिजन क्लबको भाइबर ग्रुपमा दिएको शुभकामनामा ‘आज एन्फा डे होइन, चोरहरुको श्री गणेश डे हो’ भनेका थिए।

त्यसलाई एन्फाले मर्यादा हितविपरीतको काम भन्दै उनलाई ४८ घण्टाभित्र लिखित स्पष्टीकरण सोधेको थियो त्यसमा थापाले बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनलाई अध्यक्ष पदबाट निलम्बन गरेको थियो।

थापाले भने आफूलाई गरेको कारबाही विधानविपरीत रहेको भन्दै राष्ट्रिय खेलकुद परिषद् र एन्फाकै अपिल कमिटीमा अपिल गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया