काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अवरोध हटाउने विषयमा पहिलोपटक सर्वदलीय बैठक बोलाउने भएका छन् ।
राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाउन लागेको राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले जानकारी दिए ।
‘सर्वदलीय बैठक बोलाउने भन्ने छ। राष्ट्रपति भएपछि बिरामी परेकाले उहाँले सबै दलका नेताहरूसँग एक पटक पनि भेट्न पाउनु भएको छैन,’ थापाले भने, ‘अहिले स्वास्थ्य पनि ठिक भएको र संसद पनि चलिरहेकोले एक पटक भेट्नु पर्छ भनेर तयारी भइरहेको हो, सबैसँग भेटघाट गरेर अहिलेको परिस्थिति बुझ्नका लागि उहाँले इच्छा गर्नुभएको छ ।’
उनका अनुसार शनिबार वा आइतबार सर्वदलीय बैठक बोलाइने छ। ‘सर्वदलीय बैठकका लागि पहिले पनि कुरा भएको हो। सरसल्लाह गरेर मिति तय हुन्छ,’ उनले भने, ‘समय त अरु नेताहरूको पनि मिल्नु पर्यो नि, भोलि राष्ट्रपतिज्यूले हामीहरुसँग पनि बैठकको तयारीबारे कुरा गर्नुहुन्छ होला ।’
गत शुक्रबार राष्ट्रपति पौडेल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो। राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग पनि योबीचमा छलफल गरेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया