काठमाण्डौंः मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँभन्दा बढी रकम फेला परेको छ । आइतबार स्थानीयवासी, सुरक्षाकर्मी र बैङ्कका कर्मचारीद्वारा भग्नावशेष उत्खनन गर्ने क्रममा उक्त रकम भेटिएको हो ।
बाढीले पुरिएको बैङ्कको भवन खोतल्दा प्रभु बैङ्कको रु ५१ लाख ६२ हजार दुई सय २६ र नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको पनि रु एक करोड पाँच लाख ३२ हजार नौ सय ६४ फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले जानकारी दिनुभयो ।
बाढीले प्रभु बैङ्कको भवन नै बगाएको थियो भने नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क भएको घर दुई तलासम्म बाढीसँगै आएको लेदोले भरिएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ । एक सातापछि आज फेला परेको रकम सुरक्षित नै रहेको उहाँले बताउनुभयो ।
प्रहरी नायब उपरीक्षक पौडेलले भन्नुभयो, “आज गाउँले, सुरक्षाकर्मी र बैङ्कका कर्मचारीहरूले उत्खनन गर्ने क्रममा पैसा फेला परेको छ, भल्टसँगै पैसा फेला परेको हुँदा पैसा सुरक्षित नै देखियो, बैङ्कको भवन छुट्टा–छुट्टै थिए, त्यसले गर्दा कुन बैङ्कको पैसा हो भन्ने पत्ता लगाउन सहज भयो ।” रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया