कार्तिक २९, २०८३ आइतबार November 15, 2026

अवधी समुदायले गुडिया पर्व मनाउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः आज साउन शुक्लपक्ष नागपञ्चमी पर्व। पश्चिम नेपालको तराईका जिल्लामा बसोबास गर्ने अवधी समुदायले नाग पर्वलाई ‘गुडिया’ पर्वका रूपमा मनाउने गर्दछन्।

यो पर्व अवधी समुदायको मुख्य पर्वको रूपमा लिइन्छ। आजको दिन सो समुदायले घरपरिवार, आफन्त, टोल छिमेक सबै मिलेर विशेष धुमधामका साथ सो पर्व मनाउदछन्।

गाउँ टोलका विशेष गरी अगुवा बिहानै नुहाएर घरको वरिपरि गाईको गाेबरले चिन्हो तानेर मोटो लाइन बनाउने गर्दछन्। यसलाई गोबर चक्र भनिन्छ। सो चक्रले घरमा सर्पलाई आउनबाट रोक्ने यहाँ धार्मिक विश्वास रहिआएको छ।

यसपछि दूध र चनाको घुघरी (भिजाएको काँचो चनाबाट बनाइएको परिकार) नाग देउता र गाउँ नजिकै रहेको थान देउतामा चढाइने गरिन्छ। योसँगै घरको ढोकामा नाग टाँसेर पूजा पनि गरिन्छ।

यस दिन सबैको घरमा खाने परिकारअन्तर्गत चनाको घुघरी बनाइने गरिन्छ। यसका साथै पुरी, तरकारी, खिर, अचार, गुल्गुला यो पर्वको मुख्य परिकार हो। यो पर्वमा विवाहित छोरीलाई घुघरी पठाउने चलन पनि छ।

घुघरीमा चना, चामल, भेली मिठाइँ, र आवश्यक कपडा लत्तासहितको गठरी सामर्थअनुसार भाइ वा बाबुले गठरी बाँधेर छोरीको घरमा लग्ने परम्परा रहेको वरिष्ठ अवधि साहित्यकार सच्चिदानन्द चौबेले जानकारी दिए।

यस पर्वमा छोरी बोलाउने तथा लिन जाने गरिन्छ। गाउँघर, टोल समुदायमा पिङ (झुला) हाल्ने गरिन्छ। युवायुवती गीतसंगीत गाएर पिङ खेल्ने चलन छ। साँझ सबै युवतीले कपडाको गुडिया बनाएर भुइँमा हाल्ने र युवाले लठ्ठीले गुडिया पिट्ने गरेको अवधि अगुवा पण्डित शिवप्रसाद पाठकले बताए।

उनका अनुसार यस दिन सबैको घरमा मिठोमिठो खानेकुरा पकाइने गरिन्छ। यस दिन घरमा पाहुनालाई बोलाइ सेवा सत्कार गरिन्छ। यो पर्व समुदायमा आदि कालबाट चलिआएको अगुवा उनले बताए।

उनले भने, ‘हामी सबै भगवानलाई देउताको रूपमा मान्ने गर्छौं। सूर्य, चन्द्रमा, नदी, पृथ्वी, गाई, रुख, हावापानी, सर्प, बाँदल, अन्नपात, वन, जंगल, पहाड, समुद्रजस्ता प्रकृतिबाट उत्पन्न वस्तुलाई देउता सामान मानिन्छ। सबै देवरूपमा रहेका छन्। यसलाई समय समयमा पूजा गर्नुपर्छ।’

जादुगर (मदारी)ले घर घरमा गएर सर्प देखाइ गरेर सिधा लिने गरेको पाइन्छ। स्वास्थ्यको हिसाबले बर्सातको मौसममा हिलो, माटो, गोबर, खेतीपातीको काम गरेर शरीरको तन्दुरस्ती कम भएको हुन्छ। त्यसलाई पूर्ति गर्न यस पर्वमा चनाको घुघरी (गेँडागुडी पोषिलो खान) खाएर शरीरलाई बलियो बनाउने परम्परा रहेको छ।

अवधीमा उखान छ, ‘चना सवसे मरदाना अनाज होय, इसे मरदाङ्गगी पैदा होत है।’ गुडिया पर्वको धार्मिक सम्बन्ध पनि छ। भगवान कृष्णले नागलाई नाथेका थिए। उनलाई अन्त पठाएपछि जमुना नदीको पानी सफा भएको थियो।

सर्प सत्रु नभएर घर र खेत–खरिहानमा रहेका मुसा, छेपारो, गिरगट्टो, भ्यागुता आदि जनावरलाई खाने गर्दछ। सर्पलाई दूध र चना खुवाउने गरिन्छ।

परापूर्वकालबाट गुडिया र होली पर्व एकै दिन (बार) मा पर्ने गर्दछन्। यसैले भन्ने गरिन्छ, ‘नाग फाग एकै दिन’ सबै चाडपर्व समुदायमा मेल सद्भाव, शान्ति, भाइचारा कयम गर्ने पर्वको रूपमा लिइएको छ। अवधीभाषामा उखान छ ‘गुडिया ढुढेंरीमा समधी दमादका ना बोलावा जाय तौ कब बोलावा जाय।’ रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार