कार्तिक २९, २०८३ आइतबार November 15, 2026

गोकर्णेश्वर मेलाको तयारी पूरा

मेला व्यवस्थापन गर्न आजैदेखि २०० जना स्वयंसेवक परिचालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ ।

बाबुको मुख हेर्ने दिनका रुपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले विभिन्न पवित्रस्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने वैदिक सनातनी परम्परा छ ।

यसै अनुसार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा यही भदौ २८ गते बिहीबार लाखौँ भक्तजन पितृप्रति सम्मान प्रकट गर्न आउँदै छन् । मेलाका लागि लागि मंगलबारदेखि तयारी गरिएको छ ।

उत्तरगया भनेर चिनिने गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पितृ सम्मान दिवसको मेलाका लागि सबै तयारी पूरा भएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष जयराम महतले राससलाई जानकारी दिनुभयो । मेलाका लागि सात उपसमिति गठन गरेर तयारी गरिएको छ ।

मन्दिर परिसरमा बाबुको सम्मान गर्न भक्तजन आउने भएकैले यो औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ । यस दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्छ ।

मेला व्यवस्थापन गर्न आजैदेखि २०० जना स्वयंसेवक परिचालन गरिएको जानकारी पनि उहाँले दिनुभयो । मेलाका लागि बिहीबार नेपाल मेडिकल कलेज र माकालबारी सानो पुल क्षेत्रमै सार्वजनिक यातायात रोकी मन्दिर क्षेत्रमा प्रवेश गर्न नदिने गरी तयारी भएको समितिले जनाएको छ ।

यस अवसरमा रसुवाको वेत्रावती, देवघाटलगायत दोभान र त्रिवेणीमा पनि पितृप्रति श्रद्धा भक्तिसाथ श्राद्ध, तर्पण गर्ने भक्तजनको लर्को लाग्छ  ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाइ आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ ।  मृत बाबुका नाममा भने गोकर्णेश्वरलगायत तीर्थस्थलमा गई श्रद्धाभक्तिपूर्वक तर्पण, पिण्डदान र सिदादान गरिन्छ ।

यस दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस दिन घर घरमा पवित्र कुश भित्रा्याएर कुशे औँशी पर्व पनि मनाइन्छ ।

वर्षभरि देवकार्य तथा पितृकार्यलगायत धार्मिक क्रियाकलापमा प्रयोग गरिने कुश यसै दिन वैदिक मन्त्रोच्चारणपूर्वक छेदन गरी घरमा राखिन्छ  । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको शास्त्रीय मान्यता छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार