काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले मंगलबारदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु गरेको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले गत साउन ३० गते भएको कक्षा १२ को नतिजामा ‘नन ग्रेडेड’ (एनजी) ल्याएका विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिएको जानकारी दिए।
बोर्डका परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्माले आज र बुधबार दुई दिन परीक्षा सञ्चालन हुने जानकारी दिए। आज पहिलो दिन एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषयको परीक्षा, दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय तर अनिवार्य अङ्ग्रेजी तथा अनिवार्य नेपाली दुवै विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ।
त्यस्तै, दोस्रो दिन दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुने उनले जानकारी दिए।
देशभरका कूल चार सय १९ परीक्षा केन्द्रमा एकै साथ सुरु भएको परीक्षामा एक लाख २३ हजार तीन सय ९६ परीक्षार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका छन्।त्यसमध्ये एक विषयमा मात्र नन ग्रेडेड अर्थात् एनजी आउने ७९ हजार पाँच सय ८४ विद्यार्थी परीक्षामा सहभागी छन्।
ग्रेडिङ निर्देशिकाअनुसार कुनै विषयमा ३५ प्रतिशत अंक पनि नल्याएमा ननग्रेडेड (एनजी) हुन्छन्। परीक्षा देशभरका परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा सुरु भएको परीक्षा नियन्त्रक शर्माले जानकारी दिए ।-रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया