श्रावण ५, २०८२ सोमबार July 21, 2025

एक शिक्षक बराबर दुई विद्यार्थी !

मर्जर प्रक्रिया सकिएपछि पाँचखाल नगरमा ३० विद्यालय हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काभ्रेपलाञ्चोकको पाँचखाल नगरका सामुदायिक विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या घटिरहेको छ । चालु शैक्षिक सत्रमा नगरका केही विद्यालयमा एक शिक्षक बराबर दुई विद्यार्थी मात्रै अध्ययनरत पाइएको छ ।

नगरको छ विद्यालयमा एक अङ्कमा विद्यार्थी सङ्ख्या रहेको पाइएको हो भने केहीमा जम्मा १४ जना हाराहारीमा विद्यार्थी सङ्ख्या रहेका छन् । विद्यार्थीको सङ्ख्या घट्दै गएपछि अत्यन्त कम विद्यार्थी रहेका सामुदायिक विद्यालय नजिकका विद्यालयमा गाभ्न (मर्ज)को तयारीमा रहेको जनाइएको छ ।

पाँचखाल –१३ स्थित गङ्गा प्राथमिक विद्यालयमा एक शिक्षक र दुई विद्यार्थी, ८ नं वडास्थित जनज्योति प्राविमा दुई शिक्षक र चार विद्यार्थी, ११ नं वडास्थित धरणी प्राविमा एक शिक्षक र पाँच विद्यार्थी तथा समाज सुधार प्राविमा दुई शिक्षक र पाँच विद्यार्थी, वडा नं ९ को सरस्वती प्राविमा दुई शिक्षक र चार विद्यार्थी र ६ नं वडास्थित भमरकोट हिमालय प्राविमा तीन शिक्षक र छ विद्यार्थी हाल अध्ययनरत छन् । यी विद्यालयमा कूल ११ शिक्षकले २६ विद्यार्थीलाई शिक्षण गरिरहेका हुन् ।

नगर शिक्षा शाखाले विद्यालयमा अत्यन्त न्यून विद्यार्थी सङ्ख्या हुँदा अध्यापनमा निकै असहज अवस्था आएकाले शिक्षक व्यवस्थापन तथा दरबन्दी मिलानसम्बन्धी मापदण्डको आधारमा विद्यालय मर्ज गर्ने तयारी भइरहेको जनाएको छ । “हामीले विद्यार्थी न्यून रहेका विद्यालय नजिकको विद्यालयमा मर्ज गर्ने तयारी गरिरहेका छौँ, त्यसका लागि विद्यालयसमेत छनोट भइसकेको छ”, शिक्षा शाखा प्रमुख उदय कोइरालाले भने ।

उनका अनुसार सात प्रावि तथा एक आधारभूत विद्यालय मर्जको तयारी गरिएको हो । नगर शिक्षा समितिले मर्ज गर्ने विद्यालयका विषयमा कार्यपालिकामा पेश गरिसकेको कोइरालाले बताए । उनका अनुसार अन्य दुई विद्यालयमा चार शिक्षक र २८ विद्यार्थी रहेपछि ती विद्यालय पनि मर्जको तयारीमा रहेका छन् । पाँचखाल नपा–१२ को नारायण प्राविमा दुई शिक्षक १४ विद्यार्थी र वडा नं ६ को झिङ्गना प्राविमा दुई शिक्षक र १४ विद्यार्थी रहेकाले यिनीहरुको समेत मर्जको तयारी गरिएको हो ।

शिक्षा शाखाका अनुसार नारायण प्राविको समायोजन नजिकको आजाद माध्यमिक विद्यालय र झिङ्गना प्राविको समायोजन जोरपाटी माविमा गरिने भएको छ । अन्य मर्ज तगर्ने तयारी भइरहेकामा गङ्गा प्रावि जागृति आधारभूत विद्यालयमा, धरणी प्रावि गङ्गादेवी आधारभुत विद्यालयमा, सरस्वती प्रावि पलाञ्चोक भगवती माविमा, जनज्योति प्रावि जनता माविमा, समाज सुधार प्रावि भगवती प्राविमा र भमरकोट हिमालय प्रावि जोरपाटी माविमा समायोजन हुने जनाइएको छ ।

नगरले भौतिक पूर्वाधारको अवस्था तथा जनशक्ति र विद्यार्थी अनुपात हेरेर सामुदायिक विद्यालय गाभ्ने तयारी गरेको जनाएको हो । शिक्षा समितिले पनि विद्यार्थी–शिक्षकको अनुपात नमिलेका पाँचखालका विद्यालय विद्यार्थीको सङ्ख्या थोरै तथा शिक्षक दरबन्दी कम भएका र दूरीका हिसाबले टाढा रहेका विद्यालय एकै ठाउँमा समायोजन गर्न कार्यपालिकासमक्ष सिफारिस गरेको जनाएको छ ।

मर्जर प्रक्रिया सकिएपछि पाँचखाल नगरमा ३० विद्यालय हुनेछन् । जसमध्ये १३ माध्यमिक विद्यालय, चार आधारभूत विद्यालय र १३ प्रावि रहनेछन् । नेपालको शिक्षा नियमावलीले विद्यार्थी शिक्षक अनुपात हिमालमा ४० विद्यार्थी बराबर एक शिक्षक, पहाडमा ४५ विद्यार्थी बराबर एक शिक्षक र तराई तथा उपत्यकामा ५० विद्यार्थी बराबर एक शिक्षक हुनुपर्ने प्रावधान छ ।

यस्तै नियमावलीमा प्राविमा शिक्षक एक, प्राविमा ५० जनासम्म विद्यार्थी भएमा दुई जना र सोभन्दा बढी विद्यार्थी भएमा तीन जना, निम्न माध्यमिक विद्यालयमा चार जना र कक्षा १ देखि ८ सम्म सञ्चालन भएको आधारभूत विद्यालयमा कम्तीमा सात जना शिक्षक रहने व्यवस्था छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार