काठमाडौंः दशैंका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफल पश्चात २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको हो।
हरेक वर्ष दशैं, तिहार र छव पर्वका अवसरमा काठमाडौंलाई कर्मथलो बनाएका आम नागरिक चाडपर्वमा जिल्ला जाने गर्छन् । याे वर्ष पनि काठमाडौंबाट लाखौं यात्रु बाहिरिने अनुमान गरिएकाे छ । दशैंमा घर जानका लागि सहज होस् भनेर प्रत्यक वर्ष दशै अघि नै अग्रिम टिकट बुकिङ खुल्ने गरेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारका अनुसार अग्रिम टिकट बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिने छ।
टिकट बिक्रीको अनुगमनलाई तीव्र पारिने उनले बताए। कालोबजारीमा टिकट बिक्री नहोस् भनेर विभागले टिकट बुकिङ खुल्ने दिनबाट नै कडा अनुगमन थालिने महासंघको भनाइ छ। यसका साथै ‘बस सेवा डटकम’ बाटै टिकट काटेर पनि यात्रुहरू घर गइरहेका छन्।
बस सेवा डटकमका सीईओ पीआर खनालले बस सेवाबाट दैनिक ३५ हजार टिकट उपलब्ध भइरहेको जानकारी दिए। छोटो दूरीदेखि लामो दूरीसम्मका ६० भन्दा बढी जिल्लाहरूका लागि अनलाइनमा टिकट उपलब्ध रहेको उनको भनाइ छ। घटस्थापना अर्थात यही असोज २८ गतेसम्मका लागि अनलाइनबाटै टिकट काट्न सुरु भइसकेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया