कार्तिक २९, २०८३ आइतबार November 15, 2026

टाकुरामा रहेको धादिङको ऐतिहासिक भैरवी मन्दिर

प्रसव पीडामा छट्पटिएकी भैरवीलाई छाडेर टाढा जान नसकेपछि भैरव भैरवी बसेकै तल्लोपट्टि बसेको किंवदन्ती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः धादिङको ऐतिहासिक भैरवी मन्दिर पहाडको चुचुरोमा छ । दुईतिर कहालिलाग्दो भिर छ, अर्को दुईतिरबाट मन्दिर प्रवेश गर्ने गोरेटोमा सिँढी हालिएको छ । माछाको शरीरजस्तो भू–बनोटको टाकुरामा बन्दै गरेको मन्दिर पछिल्लो समय आकर्षणको केन्द्र बनेको छ ।

धादिङको नीलकण्ठ नगरपालिका–६ सुनौलाबजारमा रहेको यो मन्दिरले धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको छ । गणेश हिमाल, मनास्लु, माछापुच्छ्रे, मानापाथीलगायत आधा दर्जन बढी हिमालको दृश्यावलोकन गर्न सकिने भैरवी मन्दिरमा चाडपर्व र बिदाको दिन दर्शनार्थीको घुइँचो नै लाग्छ ।

पौराणिक भनाइअनुसार यस मन्दिरसँग भगवान् भैरव र भैरवीको कथा जोडिएको छ । भगवान् भैरवको श्रीमती भैरवीलाई सुत्केरी भएका बेला मासु खान मन लाग्यो । भैरव बाघको रुपधारण गरेर मासु लिन जङ्गल जानुभयो । सुँगुरको सिकार गरेर फर्किनुभयो । सुँगुर भन्ने थाहा पाएपछि भैरवी डराएर त्यही घोप्टो परेर बस्नुभयो । भैरवलाई भित्र पस्न दिनुभएन । प्रसव पीडामा छट्पटिएकी भैरवीलाई छाडेर टाढा जान नसकेपछि भैरव भैरवी बसेकै तल्लोपट्टि बसेको किंवदन्ती छ । अहिले यो स्थानमा भैरवी र भैरवको छुट्टाछुट्टै दुई वटा मन्दिर छ ।

नेपालमा राम शाहले विसं १६६६ मा स्थापना गरेको आठवटा शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो । राम शाहले स्थापना गरेका कुरा लालमोहरमा लेखिएको छ । तर स्पष्ट बुझिँदैन । भैरवी मन्दिरको इतिहास नेपालको एकीकरणसँग पनि जोडिएको भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव कृष्णबहादुर श्रेष्ठले बताउनुभयो । पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्न नसकेपछि भैरवी मन्दिरमा बास बसी भाकल गरेको र भाकलपछि नुवाकोट विजय हासिल गरेको विभिन्न लेख तथा लिपिमा भेटिन्छ ।

‘मन्दिरमा पूजासहित बडादशैँ र चैते दशैँमा विशेष मेला लाग्छ । मन्दिरमा विशेष पूजा, भाकल तथा बलि चढाउने परम्परा रहिआएको छ । बडादशैँको नवमीका दिन सुँगुरको बलि दिँदै आएको छ,’ श्रेष्ठ भन्नुहुन्छ, ‘मन्दिर आइपुग्न सदरमुकामबाट १३ किमी कालोपत्र र पाँच किमी कच्ची गरी १८ किलोमिटरको यात्रापछि भैरवी मन्दिर पुगिन्छ । गाडीबाट मात्र नभइ हाइकिङ गर्ने पनि भैरवी मन्दिर आइपुग्ने गरेका छन् ।’

विसं २०७२ को भूकम्पले भत्किएपछि अहिले मन्दिरको पुनःनिर्माण भइरहेको छ । विसं २०७६ फागुन २३ गते मन्दिर पुनःनिर्माणका लागि शिलान्यास गरिएको हो ।  १३ करोड रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर निर्माणको काम शुरु गरिएको छ । हालसम्म मन्दिरमा चार करोड रुपैयाँ बराबरको पुनःनिर्माण भइसकेको भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले बताउनुभयो ।

मन्दिरमा खानेपानी तथा शौचालयको पनि राम्रो व्यवस्था छ । सिसी क्यामेरा र इन्टरनेट पनि जडान गरिएको छ । मन्दिर आइपुग्ने भक्तजन प्राकृतिक सुन्दरताको मनोरम दृश्यमा लोभिने गरेका छन् । जिल्ला सदरमुकाम धादिङबेसीबाट १८ किमीको दुरीमा रहेको सुनौलाबजार धादिङ जिल्लाको पुरानो सदरमुकाम पनि हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
२०८३ कार्तिक २९, आइतबार