श्रावण ५, २०८२ सोमबार July 21, 2025

सरस्वती माविका शिक्षक विद्यालय बन्द गरेर शैक्षिक भ्रमणमा

हप्ता दिनका लागि १७ गते भ्रमणमा निस्किएको टोली २३ गते फर्किने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: खोटाङ जिल्ला सदरमुकामसमेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१ दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयका शिक्षकहरु शैक्षिक भ्रमणमा निस्किएका छन् ।

विद्यालय बन्द गरेर विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीसहित शिक्षकहरु शैक्षिक भ्रमणमा निस्किएका हुन् । एक साताका लागि कात्तिक १७ गतेबाट विद्यालयको टोली भ्रमणमा निस्किएको छ । शिक्षकहरु भ्रमणमा निस्किएपछि विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।

नमुना विद्यालयको कार्यक्रम अन्तर्गत शिक्षकहरु भ्रमणमा गएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका शिक्षा शाखा प्रमुख तीर्थ विश्वकर्माले बताउनुभयो । ‘उहाँहरु नमुना विद्यालयको कार्यक्रम अन्तर्गत भ्रमणमा गएको भन्ने जानकारी नगरपालिकामा आएको छ’ उहाँले भन्नुभयो, ‘कामविशेषले केही दिन म पनि बाहिर थिएँ, त्यसैले कहिलेसम्म र कहाँ गएको भन्ने जानकारी छैन् ।’

हप्ता दिनका लागि १७ गते भ्रमणमा निस्किएको टोली २३ गते फर्किने माविका प्रधानाध्यापक शिवहरी ढकालले बताउनुभयो । विद्यालयले गत चैतमा तयार पारेको शैक्षिक पात्रोअनुसार शैक्षिक अध्ययन अनुगमन भ्रमणमा गएको उहाँको भनाइ छ ।

‘भ्रमणका लागि हरेक वर्ष नमुमा विद्यालय विकास कार्यक्रम अन्तर्गत संघबाट बजेट आउने गर्छ । हामी अघिल्लो चार वर्ष गएनौँ, यो वर्ष गत चैतमा तयार भएको शैक्षिक पात्रोअनुसार भ्रमणमा निस्किएका हौँ’ प्रधानाध्यापक ढकालले भन्नुभयो, ‘विद्यालय व्यवस्थापन र शिक्षक अभिभावक संघका पदाधिकारी, वडाध्यक्ष, विद्यालयका कर्मचारी र शिक्षक भ्रमणमा छौँ । केही शिक्षकहरु भने भ्रमणमा आउनुभएको छैन् ।’

चितवन, तनहु र कास्कीका केही नमुना तथा उत्कृष्ट विद्यालयको भ्रमण गरिरहेका विद्यालयको टोली भौगोलिक तथा सामाजिक अनुगमनका लागि मुस्ताङसम्म पुगेर फर्किने उहाँको भनाइ छ । हाल शैक्षिक भ्रमणको समयमा भएको विद्यालयको बिदा हिउँदे बिदाबाट कटाइने उहाँले बताउनुभयो ।

नमुमा विद्यालय विकास कार्यक्रमको २ लाख र परीक्षामा शिक्षकले पाउने केही रकमले विद्यालय टोली भ्रमणमा गएको बताइएको छ । नमुना एवम् उत्कृष्ट विद्यालयको भ्रमण गरी नमुना कामहरु आफ्नो विद्यालयमा पनि लागू गर्न टोली भ्रमणमा भएको जनाइएको छ ।

विद्यालय नै बन्द गरेर शिक्षक भ्रमणमा निस्किएपछि कक्षा १२ सम्म पढाइ हुने विद्यालयका विद्यार्थीको पढाइ भने प्रभावित छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया