कार्तिक २९, २०८३ आइतबार November 15, 2026

भाइटीकाको उत्तम साइत बिहान १०:५१ बजे

भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व  फर्कनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ : नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज बुधवार भाइटीका मनाइँदै छ।

भाइटीकाको टीका बुधवार दिनभर टीका लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान १०:५१ बजेको अभिजित मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व  फर्कनुपर्ने समितिले जनाएको छ। यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन्।

दिदीबहिनीले दाजुभाइलाई आशीर्वाद दिने भएकाले यसरी बस्नुपर्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराईले बताए। शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ।

यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन बुधवार भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने गर्छन्।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने चाड तिहारको मुख्य दिन दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्छन्। भाइटीकाको दिनलाई यमद्वितीया पनि भनिन्छ।

दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको समितिका सदस्य भट्टराईले बताए।

‘राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्छ’

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको भाइटीकाको दिन पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् अधिकारीले सुनाए।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
२०८३ कार्तिक २९, आइतबार