काठमाण्डौंः १३ दिनदेखि तलबभत्ता माग गर्दै आन्दोलित सर्लाहीको हरिपुर्वा नगरपालिकाका शिक्षक- शिक्षिका विद्यालय फर्किएका छन्।
नगरप्रमुख विनोदकुमार साहसँग पालिकामा प्रशासकीय प्रमुख आउनेबित्तिकै तलबभत्ता दिने सहमति भएपछि शिक्षक-शिक्षिका विद्यालय फर्किएका हुन्।
नगरका १६ वटै विद्यालयका शिक्षक-शिक्षिकाहरू लामो समयदेखि तलबभत्ता नपाएको भन्दै पालिकामै धर्नामा बसेका थिए। सहमतिसँगै विद्यालयमा पठनपाठन सुचारु भएको छ।
शिक्षक-शिक्षिकाहरू धर्नामा बसेपछि नगरका पाँच हजार बढी विद्यार्थी पठनपाठनबाट वञ्चित भएका थिए। गत मंसिर ६ गतेबाट धर्नामा बसेका शिक्षक-शिक्षिकाहरूसँगको वार्तामा सहमति भएको मेयर साहले जानकारी दिए। प्रशासकीय प्रमुख नभएका कारण यस आर्थिक वर्षमा पालिकाको नगर सभासमेत अलपत्र परेको छ भने आर्थिक कारोबार ठप्प छ।
नगर प्रमुख साहले प्रशासकीय प्रमुख आएलगत्तै शिक्षकहरूको तलबभत्ता व्यवस्थापन गराउने प्रतिबद्धता गरेका र शिक्षा शाखा प्रमुखले विद्यालय सञ्चालनको लागि आग्रह गरेकाले तत्कालका लागि धर्ना स्थगित गरी मंगलबारदेखि विद्यालय सञ्चालन गरिएको केश्वरगरिब जनता माध्यमिक विद्यालयका शिक्षक पवनकुमार झाले जानकारी दिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया