काठमाण्डौंः उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा विद्यालयको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।
भक्तपुर दरबार क्षेत्रमा रहेको श्री पद्य माध्यमिक विद्यालय एक सय वर्षमा पुगेको अवसरमा आयोजित शत वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उहाँले देशका लागि आवश्यक जनशक्ति उत्पादनमा विद्यालय लाग्नुपर्ने बताउनुभयो ।
उपराष्ट्रपति यादवले विद्यालयलाई उत्कृष्ट बनाउन विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक शिक्षिका, विद्यार्थी र अभिभावकको एकापसमा सहकार्य आवश्यक रहने बताउँदै विद्यालयले देशकै नाम उच्च राख्ने गरी गुणस्तरीय शिक्षा प्रदान गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले २०७२ को भूकम्पले क्षति गरेको विद्यालयको भवन अझै पनि पुनःनिर्माण हुन नसकेको भन्दै नगरपालिकाले नक्सा पास नगर्नु दुर्भाग्य भएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराजा जोशी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तिलकप्रकाश कायस्थ र विद्यालयका पूर्व प्रधानाध्यापक विक्रमबहादुर कायस्थले भक्तपुरको शिक्षाको विकासमा विद्यालयले ठूलो योगदान दिएको चर्चा गर्नुभयो ।
विद्यालयका प्राचार्य राम हाडाले विद्यालय र कलेजको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै देशभरका एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयले गुणस्तरीय शिक्षाका साथै विद्यार्थीलाई अतिरिक्त एवं सामाजिक क्रियाकलापमा सहभागी गराउँदै आएको बताउनुभयो ।
कार्यक्रममा पूर्व प्रधानाध्यापक नृपतिलाल प्रधानाङ्ग, विक्रमबहादुर कायस्थ र रामगोपाल कर्माचार्यलाई सम्मान गरिएको थियो भने उत्कृष्ट छात्रछात्रालाई स्वर्ण पदकसहित सम्मान गरिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया