भाद्र ३१, २०८३ बुधबार September 16, 2026

सागर थापासहित ५ जनाविरुद्धको म्याच फिक्सिङ मुद्दा सर्वोच्चमा पेशी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली फुटबल इतिहासमै पहिलो पटक म्याच फिक्सिङ (खेल मिलेमतो) गरेको आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका एक फिजियोथेरापिस्ट, एक प्रशिक्षक तथा पूर्व खेलाडी र ४ खेलाडीविरुद्धको मुद्दा मंगलबार सर्वोच्चमा पेशी चढेको छ।

न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशमा उनीहरुको पेशी चौथो नम्बरमा रहेको छ।

फुटबलमा खेल मिलेमतोको आरोप लागेका एक प्रशिक्षक र फिजियोथेरापिस्टसहित ४ फुटबलरलाई विशेष अदालतले २०७५ जेठ २४ गते उक्त अभियोगमा निर्दोष रहेको ठहर गर्दै सफाइ दिएको थियो।

विशेषको उक्त फैसलाविरुद्ध सरकारी पक्षले २०७५ मंसिर २० गते पुनरावेदन गरेको थियो। उक्त पुनरावेदन हालसम्म पाँच पटक पेशी तोकिएको छ। तर सबै पटक उक्त मुद्दा हेर्न नभ्याइने हुदै सुनुवाई सर्दै आएको थियो।

राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाविरुद्ध म्याच फिक्सिङको आरोप लागेको थियो।

यसरी म्याच फिसिङको आरोप लागेपछि उनीहरुको चलिरहेको क्यारिएर समेत रोकिएको थियो। विशेष अदालतका न्यायाधीशहरु बाबुराम रेग्मी, प्रमोद कुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले राज्यविरुद्धको अपराध मुद्दामा उनीहरुलाई ठहर गर्ने आधार नभेटिएको भन्दै सफाइ दिने फैसला सुनाएको थियो। २०७२ कात्तिक २२ गते उक्त मुद्दा विशेषमा उनीहरु विरुद्ध मुद्दा दायर गरिएको थियो।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा उनीहरुलाई २०७२ असोजमा प्रहरीले पक्राउ गरेको थियो। उनीहरुमाथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेत लगायतका राष्ट्रमा भएका प्रतियोगितामा मिलेमतोमा खेल खेलेको आरोप लागेको थियो।

यी खेलाडीमाथि उमेर समूह, मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट लगायतका १६ देखि २३ वटा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोप थियो। उनीहरुले खेल मिलेमतो गर्दा प्रति खेल ५ हजार अमेरिकी डलरसम्म लिने गरेको प्रहरीको दाबी थियो। तर अदालतमा यी कुरा पुष्टि हुन नसकेपछि सफाई दिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया