जेठ ८, २०८१ मंगलबार May 21, 2024

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ घटालमा आज विसु जाँत हुँदै

हरेक वर्ष वैशाख २ गते घटालजाँत हुने प्रचलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः डडेल्धुराको अमरगढी नगरपालिका वडा नं –३ मा अवस्थित घटालथानमा आज ‐आइतबार ) विसु जाँत मनाइँदै छ । सुदूरपश्चिमै प्रसिद्ध शक्तिपिठका रूपमा रहेको घटालथानमा धामीले बालुवा खाने र घडाबाट पानी खाने गरेको प्रत्यक्ष देख्न सकिन्छ । हरेक वर्ष वैशाख २ गते घटालजाँत हुने गरेको छ ।

किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ ।

द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव र पाण्डव बीचको धर्मयुद्धमा भीमपुत्र  घटोत्कचले ठुलो पराक्रम प्रदर्शन गरेका थिए । उनले कौरव सेना माथि धावा बोलेर ठुलो क्षति पुर्‍याएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।

लडाइ मैदानमा वीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कलियुगमा ख्याति प्राप्त भगवानका रूपमा मान्यता पाउने वरदान दिएको जनविश्वास रहिआएकाे छ । उनै भीम पुत्र घटोत्कच नै घटाल भएको जनविश्वास गरिँदै आएको छ । यस क्षेत्रमा खडेरी भए घटालथानमा बाजा गाजाका साथ हलो लैजाने र पानी पर्ने गरेको स्थानीय शिवराज अवस्थी बताउनु हुन्छ ।

यस वर्ष पनि घटालजाँत धूमधामसँग मनाइन लागेको घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णराज बोहराले बताउनु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया