काठमाडौं । सेयर बजार खोल्न माग गर्दै अधिवक्ताद्वय रपिस पोख्रेल र हरिप्रसाद दाहालले दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । न्यायधीशहरू आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी चढेको उक्त मुद्दामा आज सुनुवाइ हुन लागेको हो । लकडाउनपछि बन्द रहेको बजार खोल्न माग गर्दै अधिवक्ता पोखरेल र दाहालले जेठ २९ गते सर्वोच्चमा रिट दायर गरेको थिए ।
उक्त रिटमाथि सुनुवाइ गर्दै जेठ ३२ गते न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले कारण देखाऊ आदेश जारी गर्दै विपक्षीलाई बोलाएको थियो । उक्त आदेशमा विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ दिन भनिएको थियो ।
उक्त मुद्दाको विपक्षीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) रहेका छन् ।
सरकारले लकडाउन गरेसँगै चैत १० देखि बन्द भएको सेयर बजारबीचमा वैशाख ३० र ३१ गते दुईदिन खुलेको थियो । त्यसपछि पुनः बन्द भएको सेयर बजार सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरी अन्य क्षेत्र खुलाउँदासमेत नखुलेपछि अधिवक्ताद्वय पोखरेल र दाहालले सेयर बजार खुलाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
हाल सेयर बजार खुलाउने विषयमा धितोपत्र बोर्डले अध्ययन समिति गठन गरेको छ । नेप्सेले भने धितोपत्र बोर्डको आदेशमा अर्को सूचना नआएसम्मका लागि बजार बन्द रहने भन्दै असार ६ गते एक सूचना जारी गरेको छ । उक्त रिटमाथिको सुनुवाइ सकिए आज अन्तरिम आदेश आउने सक्नेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया