कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट खारेज

निर्देशनात्मक आदेश गर्दै रिट निवेदन खारेज हुने फैसला सुनायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्ति विरुद्धको रिट निवेदन खारेज गरेको छ ।

न्यायाधीशहरू प्रकाशकुमार ढुङ्गाना, कुमार चुडाल र सुनिलकुमार पोखरेलको पूर्ण इजलासले आज निर्देशनात्मक आदेश गर्दै रिट निवेदन खारेज हुने फैसला सुनाएको हो ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको नियुक्तिविरुद्ध गत वैशाख ९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मण किशोर चौधरीले रिट निवेदन दायर गर्नुभएको थियो ।

तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि पहिलो पटक दाबी पेस गर्न समय दिँदा एकीकृत समाजवादीको समर्थनसहित लक्ष्मण किशोरलाई मुख्यमन्त्री प्रस्ताव गरिएको थियो ।

सोही समयमा नाउपाकै कैलाश चौधरीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेताको समर्थनसहित दाबी पेस गर्नुभएको थियो ।

प्रदेश प्रमुख नजिर मियाँले भने दुवै दाबीलाई खारेज गरी फेरि दाबी पेसका लागि समय दिएपछि सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया