असार २४, २०८२ मंगलबार July 8, 2025

विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम गर्नुपर्छ : राष्ट्रपति पौडेल

“लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता तथा अन्याय निवारणको उपाय र उपचार हो”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ४ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताएका छन् ।

‘सक्षम कानुन व्यवसायी, मर्यादित बार : न्यायपालिकाको पुनःसंरचना लोकतन्त्र सुदृढीकरणको आधार’ नाराका साथ नेपाल बार एशोसिएसनले आज सुरु भएको १६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले देशमा सुशासन कायम हुनुपर्नेमा जोड दिए ।

“लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता तथा अन्याय निवारणको उपाय र उपचार हो”, राष्ट्रपति पौडेलले भने, “विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने हो भन्ने कुरा पनि हामीले विर्सन हुन्न ।”

राष्ट्रपति पौडेलले न्याय महसुस हुनुपर्ने उल्लेख गर्दै भने, “न्याय, न्याय भनेर मात्र पनि पुग्दैन, यो देखिनु, सुनिनु, बुझिनु र महसुस गरिनु पनि पर्दछ ।”

संवैधानिक व्यवस्थाले विधिको शासन, लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथकीकरण, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्य तथा मौलिक अधिकारप्रति विशेष चनाखो र सचेत हुन निर्देश गर्ने उल्लेख गर्दै उनले यसको सच्चा पहरेदार नेपाल बार एशोसियसनसँग आबद्ध विद्धान कानुन व्यवसायी रहेको बताए ।

न्याय आफै हुने वा प्रकट भइहाल्ने कुनै चिज वा वस्तु नभई यो गरिने विषय भएको भन्दै राष्ट्रपति पौडेलले यसको स्वच्छतामा न्यायाधीश र कानुन व्यवसायीको आ–आफ्नै भूमिका हुनेहुँदा बार र बेञ्चबीचमा बेलाबेलामा छलफल तथा अन्तक्र्रिया हुनेगरेमा सही प्रतिफल प्राप्त हुन सक्ने विश्वास व्यक्त गरे ।

“न्यायपालिकाप्रतिको जनआस्था र विश्वास नै यसको जीवन हो”, राष्ट्रपति पौडेलले भने । विभिन्न अभाव र समस्या रहे पनि त्यसको समाधान गर्दै न्यायपालिकालाई आधुनिक र प्रविधिमैत्री बनाई कसरी चुस्त बनाउने भन्ने कुरालाई बारले पनि आत्मसात् गर्नुपर्ने उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले भने, “न्याय दिने दिलाउने पुनित कार्य न्यायका सिद्धान्त र परिभाषामा खोज्नुभन्दा कर्ताको कर्म मै प्रतिविम्बित हुनुपर्दछ भन्ने मान्यता बनाउनु पर्दछ ।”

स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, विधिको शासन, लोकतन्त्र तथा मानवअधिकारको क्षेत्रमा सदैव क्रियाशील बार एशोसियसनले न्याय कानुनका विषयमा गर्ने महत्वपूर्ण र उद्देश्यमूलक छलफलबाट निस्कने मुलुकमा न्यायपूर्ण एव सुशासनयुक्त अवस्था सिर्जना गर्न मद्दत पुग्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे । न्यायपूर्ण जीवनशैली बोकेका र अध्ययन अनुसन्धानमा समर्पित कानुन व्यवसायी न्यायपालिकाको सहयोगीमात्र हैन त्यसको सारथी पनि हुनसक्ने उनको भनाइ थियो । “यसका लागि उसको समर्पण र त्याग न्यायका लागि हुनुपर्ने खाँचो छ”, उनले भने।

लोकतान्त्रिक प्रणालीभित्र नै न्यायपालिका सक्षम हुने राष्ट्रपति पौडेलको भनाइ थियो । “सक्षमताका निमित्त ऊ आफै निष्पक्ष हुनुपर्छ, तटस्थ हुनुपर्दछ र न्यायसम्पादनमा समरुपता हुनुपर्छ”, उनले भने, “सच्चा न्यायका लागि उसलाई स्वतन्त्रता पनि चाहिएको हुन्छ र त्यसको सुरक्षाको ख्याल नेपाल बारले राख्नुपर्ने हुन्छ ।”

यही जेठ ६ गतेसम्म चल्ने सम्मेलनमा देशभरबाट करिब सात हजार कानुन व्यवसायीको सहभागी भएका छन् । उद्घाटन समारोहमा वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता सर्वज्ञरत्न तुलाधरलाई अभिनन्दन गरिएको थियो । राष्ट्रपति पौडेलले अभिनन्दनपत्र र दोसल्ला ओढाएर उनलाई सम्मान गरेका हुन्। वरिष्ठ अधिवक्ता तुलाधर बारको पूर्वअध्यक्ष समेत हुन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार