असार २८, २०८२ शनिबार July 12, 2025

कैलालीमा बुबाआमासँगै इँटाभट्टामा बस्ने बालबालिकाको पढाइ प्रभावित

टीकापुरको विजयनगर बस्तीकी हिमानी थारूका दम्पती लामो सयमदेखि इँट्टाभट्टामा काम गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कैलालीमा बुबाआमासँगै इँटाभट्टामा बस्ने बालबालिकाको पढाइ प्रभावित भएको छ ।

टीकापुरको शक्तिदेवी आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत रविका चौधरी बुबाआमाले इँटाभट्टामा काम गरिरहँदा दुई वर्षीय भाइ स्याहार्ने गर्नुहुन्छ । उहाँले गएको वर्ष सात महिना इँट्टाभट्टामा बसेकाले परीक्षा नै दिन पाउनुभएन । अहिले पनि रविका कक्षा २ मा अध्ययन गरिरहनुभएको छ । उहाँले वर्षभरिमा तीन महिनामात्र विद्यालयमा पढ्न पाउनुहुन्छ । अभिभावक मीना चौधरीले इँटाभट्टामा पढ्ने वातावरण नै नभएको गुनासो गर्नुभयो ।

यस्तै टीकापुरको विजयनगर बस्तीकी हिमानी थारूका दम्पती लामो सयमदेखि इँट्टाभट्टामा काम गर्दै आउनुभएको छ । हरेक वर्ष सात महिना इँट्टाभट्टामा बस्ने उहाँहरूको बाध्यता हो । घरमा बच्चा स्याहार्ने मानिस नभएकाले बालबालिकासँगै लैजानुपर्ने बाध्यता रहेको हिमानीको भनाइ छ ।

‘बच्चा पढाउने मन त छ तर के गर्नु बाध्यताले मिल्दैन’, उहाँले भन्नुभयो । बच्चाको भविष्य बिग्रेको थाहा हुँदाहुँदै पनि गरिबीले केही गर्न नसकिएको थारुको गुनासो छ ।

शक्तिदेवी आधारभूत विद्यालयकी शिक्षिका कल्पना खड्काले विद्यालयमा ३० देखि ४० जना बालबालिका अभिभावकसँगै इँट्टाभट्टामा जाने गरेकाले पढाइ प्रभावित हुँदै गएको बताउनुभयो । स्कुल नगएपछि बालबालिका फेल हुने र वर्षाैँसम्म एउटै कक्षामा दोहोरिएर पढ्ने गरेका छन् ।

टीकापुरको मुक्तकमैया आधारभूत विद्यालयका प्रधानाध्यापक राजाराम ढकालले विद्यालयका ४० जनाभन्दा बढी बालबालिका बुबाआमासँग काममा जाँदा पढाइमा असर पर्ने गरेको बताउनुभयो । एक सय ५१ जना विद्यार्थी रहेको मुक्तकमैया विद्यालयमा ४० भन्दा बढी बालबालिकाको पढाइ अनियमित हुने गरेको ढकालको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया