असोज ६, २०८३ मंगलबार September 22, 2026

हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा रोपिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आज (१७ असार) देखि शुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।

एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । यस वर्ष असोज महिनामा अधिकमास पर्ने भएकाले चतुर्मासा भनिए पनि पाँच महिना हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष चतुर्मासाको अवधिमा १० एकादशी पर्छन् । अधिकमासका कारण पद्मनी र परमा नामका दुई एकादशी बढी भएका हुन् ।

कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरि बोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलने डरले २५ जनाभन्दा बढीको भीडभाड नगर्न सरकारले सार्वजनिकरुपमा आह्वान गरेको छ ।

यसअघि जारी गरिएको बन्दाबन्दी केही खुकुलो भए पनि सार्वजनिक यातायात नचलेकाले टाढाटाढाका मानिस मन्दिर जान सक्ने अवस्था छैन । धेरैजसो मन्दिर पनि आममानिसलाई दर्शन एवं पूजाआजाका लागि बन्द गरिएको छ । ती मन्दिरमा नित्य पूजा आराधना मात्र हुने गरेको छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।

वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यतासमेत छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्यसमेत वैज्ञानिक रुपमा पुष्टि भएको छ ।

चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशीअर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापन गरिन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार