टक्सार (भोजपुर), ३१ साउन : पहाडी जिल्ला भोजपुरमा रहेको त्रिभुवन विश्व विद्यालयको आङ्गिक भोजपुर बहुमुखी क्याम्पसको केन्द्रीय पुस्तकालयसँग पहुँच पुगेको छ ।
शैक्षिक गुणस्तरीयता अभिवृद्धि गर्दै आधुनिक प्रविधिमा जोड्ने उद्देश्यका साथ त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय र क्याम्पसको सहकार्यमा प्राध्यापक, कर्मचारी र विद्यार्थीको लागि ई–लाइब्रेरी व्यवस्थापन, सञ्चालन, बौद्धिक चोरी नियन्त्रणलगायत विषयमा चार दिने प्रशिक्षण भएसँगै केन्द्रीय पुस्तकालयमा भोजपुर क्याम्पसको पनि पहुँच पुगेको केन्द्रीय पुस्तकालयका प्रमुख सागरराज सुवेदीले बताउनुभयो ।
नेपालमा ई–लाइब्रेरीको प्रयोग त्रिभुवन विश्वविद्यालयले गरी रहेको बताउँदै प्रमुख सुवेदीले भोजपुरमा सञ्चालन गरिएको ई–लाइब्रेरी व्यवस्थापन र सञ्चालनसम्बन्धी प्रशिक्षणले अबका दिनमा क्याम्पसको शैक्षिक सुधारमा मद्दत पुग्ने बताउनुभयो ।
ई–लाइब्रेरीका विषयमा सबैलाई ज्ञान नभई रहेको अवस्थामा केन्द्रीय पुस्तकालय र क्याम्पसको सहकार्यमा प्राध्यापक, कर्मचारी र विद्यार्थीको लागि सञ्चालन भएको प्रशिक्षणले शैक्षिक गुणस्तरीयतामा अभिवृद्धि गर्दै आधुनिक प्रविधिमा पुहँच पुग्ने भोजपुर बहुमुखी क्याम्पसका प्रमुख भुलानाथ राईले बताउनुभयो । उहाँले भन्नुभयो, “विसं २०२२ मा स्थापना भएको क्याम्पसको शैक्षिक सुधारको अभियानमा हामी लागि परेका छौँ । पठनपाठन र अध्ययनका कुरामा प्रविधिको पहुँच पुर्याउन ई–लाइब्रेरी सञ्चालनका विषयमा क्याम्पसमा प्रशिक्षण गरेका हौँ ।”
प्रशिक्षणबाट प्राप्त ज्ञानले अब जुनसुकै अवस्थामा पनि आफैँ अध्ययन गर्ने वातावरण विद्यार्थीलाई मिलेको बताउँदै क्याम्पसका प्राध्यापक शक्तिराज राईले ई–लाइब्रेरीको पहुँचले अबका दिनमा घरमै काम गर्दे पढ्ने अवसर विद्यार्धीले पाएको बताउनुभयो । केन्द्रीय पुस्तकालयबाट आएको विज्ञले प्रशिक्षण दिएसँगै हिजोका अध्ययनभन्दा अहिलेको अवस्थामा प्रविधिमा जोडिएर आफूले चाहेको विषय अध्ययन गर्न पाउने अवसर मिलेको बताउनुभयो ।
विकसित अवस्थामा प्रविधि जरुरी रहेकाले ई–लाइब्रेरीको पहुँचले विद्यार्थीलाई राहत मिलेको क्याम्पस स्ववियु सभापति निशान राईले बताउनुभयो । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले आफ्ना क्याम्पसमा क्रमिक रुपमा ई–लाइब्रेरीलाई प्रोत्साहत गर्दै लाने अभियानअन्तर्गत भोजपुरमा प्रशिक्षण कार्यक्रम सञ्चालन भएपछि पुस्तकालय व्यवस्थापनमा सहजता थपिएको क्याम्पसका पुस्तकालय फाँट प्रमुख भीमप्रसाद राईले बताउनुभयो ।
भोजपुर बहुमुखी क्याम्पसले आगामी दिनमा प्रविधिको प्रयोग गर्दै शैक्षिक अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्राध्यापक सम्झना प्रधानले बताउनुभयो । उहाँले केन्द्रीय पुस्तकालयले सञ्चालन गरेको प्रशिक्षणले सिक्ने अवसर पाएको बताउनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया