असार २६, २०८२ बिहिबार July 10, 2025

पहिरोले विद्यालय भवन भत्किएपछि पठनपाठनमा समस्या

चार कोठे भवनमा क्षति पुगेपछि अहिले बाँकी रहेका अन्य कक्षाकोठामा मुस्किलले पठनपाठन सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पर्वतको फलेवास नगरपालिका–१० मा रहेको शारदा माध्यमिक विद्यालयको भवन पहिरोले भत्किएको छ । निरन्तरको वर्षापछि भवन पछाडिको भिरबाट झरेको पहिरोले चार कोठे भवन भत्किनुका साथै अन्य कोठासमेत पुरिएका छन् । भवन भत्किएपछि दैनिक पठनपाठनमा समस्या भएको विद्यालयले जनाएको छ ।

गत साउन ३१ गते राति ११ बजे झण्डै २० मिटर लामो पहिरो झरेर भवन भत्किएको हो । चार कोठे भवनमा क्षति पुगेपछि अहिले बाँकी रहेका अन्य कक्षाकोठामा मुस्किलले पठनपाठन सञ्चालन गरिरहेको विद्यालयका प्रधानाध्यापक जीतबहादुर थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार पहिरोले तीन शौचालय प्रयोग नै गर्न नसकिने गरी पूर्ण रूपमा भत्किएका छन् भने चार कोठे भवनको दुई वटा कोठामा पूर्ण रूपमा क्षति भएको छ । ती कोठामा रहेका झन्डै २५ डेस्क र बेन्च पनि भवनसँगै पुरिएका छन् । भूकम्पपछि विद्यालयमा प्राप्त भएको अर्को चार कोठे भवन पनि सोही पहिरोले उच्च जोखिममा रहेको प्रधानाध्यापक थापाले जानकारी दिनुभयो ।

रातिको समयमा पहिरो गएका कारण मानवीय क्षति हुन नपाएको हो । ठूलो भौतिक क्षति भएपछि विद्यालय समस्यामा परेको बताउँदै प्रअ थापाले दिउँसोको समयमा पहिरो झरेको भएमा ठूलो मानवीय क्षति हुने अवस्था रहेको बताउनुभयो । “रातिको समयमा पहिरो आएकाले भौतिक क्षति भए पनि मानवीय क्षति हुन पाएन”, प्रधानाध्यापक थापाले भन्नुभयो, “विद्यालय रहेको जमिन पनि कमजोर र भिरालो भएकाले सधैँ जोखिममा रहनुपरेको छ ।”

पहिरोले भत्किएका चार कोठे भवनको दुई कोठामा विद्यार्थी राख्न सकिने अवस्था रहेको भए पनि जोखिमकै कारण त्यसलाई प्रयोगमा ल्याउन मिल्ने अवस्था नरहेको प्रअ थापाले बताउनुभयो । तत्कालका लागि केही कक्षालाई व्यवस्थापन गरेर अध्यापनलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।

पहिरो खसेको क्षेत्र ठूलो भएकाले फेरि पनि क्षति पुग्न सक्ने जोखिम रहेको उहाँले बताउनुभयो । तत्काल पहिरोको व्यवस्थापन तथा आगामी दिनमा आउन सक्ने जोखिम न्यूनीकरणका लागि धेरै बजेट लाग्ने अनुमान गरिएको छ । विद्यालय आर्थिक समस्यामा रहेका कारण विद्यालय आफैले पहिरो पन्छ्याउने र भविष्यका लागि बलियो हुने गरी पर्खाल लगाउने अवस्थामा विद्यालय नरहेको प्रधानाध्यापक थापाले बताउनुभयो ।

पहिरोको अनुगमन गर्न पुग्नुभएका फलेवासका नगर उपप्रमुख शोभाकुमारी क्षेत्रीले सङ्घ र प्रदेश सरकारसँग समन्वय गरेर पहिरोको व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गर्ने आश्वासन दिनुभएको छ । वर्षायामको समय भएकाले आवश्यक सतर्कता अपनाएर पहिरोको जोखिमलाई मध्यनजर गर्दै कक्षा सञ्चालन गर्न उहाँले आग्रह गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार