कार्तिक २९, २०८३ आइतबार November 15, 2026

ऋषिपञ्चमीका अवसरमा राजधानीका नदी किनारमा स्नान गर्ने महिलाको भीड

स्नान गरेर मध्याह्नकालमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्ने प्रचलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ,  भदौ २३ गते ।  नेपाली नारीको पर्व तीजअन्तर्गत ऋषिपञ्चमी पर्वका अवसरमा राजधानीका वाग्मती, विष्णुमती, रुद्रमती, मनमतीलगायत नदी किनारका मुहानस्थलमा स्नान गर्ने महिलाको भीड लागेको छ ।

महिलाले वर्षमा एकपटक आजका दिनमा सकेसम्म नदी, ताल, तलाउ, पोखरी जस्ता स्थानमा स्नान गर्नुपर्ने शास्त्रीय विधि छ । तुलनात्मक रुपमा वाग्मती सफा रहेको गोकर्ण ब्यारेजभन्दा माथिको भागमा ऋषिपञ्चमीका अवसरमा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका महिलाको समूहले स्नान गर्न भीड लागेको छ । गोकर्णबाट सुन्दरीजलसम्मको करिब सात किमी नदी किनारको दायाँ बायाँ दुई नगरपालिकाका हजारौँ महिलाले आज ऋषिपञ्चमीका अवसरमा स्नान गरिरहेका छन् ।

राजधानी शहरको मुख्य भागमा बसोवास गर्ने महिला भने सार्वजनिक सवारी रिजर्भ गरेर वाग्मती, विष्णुमती, रुद्रमती, मनमतीलगायत नदीको मुहान क्षेत्रमा गई स्नान गरिरहेका छन् । स्नानपछि आज भाद्र शुक्ल पञ्चमीमा मनाइने ऋषि पञ्चमीमा नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गर्छन् । स्नान गरेर मध्याह्नकालमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्ने विधि छ ।

महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी कर्म भने महिलाले मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

रजस्वलाका समयमा छाईछुई लगायत कुनै त्रुट भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

नारी रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको  उहाँले बताउनुभयो ।

यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषिपञ्चमीको पूजा लगाउने पनि भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।

आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलाे आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । ऋषिपञ्चमीका दिन काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा आराधनाका लागि श्रद्धालु महिला भक्तजनको भीड लागेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १५४ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार