कार्तिक २९, २०८३ आइतबार November 15, 2026

मिथिलामा आज एकैदिन दुई पर्व मनाइँँदै

गुरु, पुरोहितका हातबाट अनन्त डोरा बाँध्दै हिन्दू मैथिल समुदायले अनन्त चतुर्दशी पर्व मनाउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

महोत्तरी, १ असोजः मधेस प्रदेशका मिथिला क्षेत्रमा आज एकसाथ दुई पर्व मनाइँदैछन् । सौरमासको असोज सङ्क्रान्तिका दिन मनाइने ज्यावलका देवता विश्वकर्मा पूजा र चन्द्रमासको भदौ शुक्ल चतुर्दशीका दिन मनाइने अनन्त चतुर्दशी पर्व आज एकैदिन परेको हो ।

हिन्दू परम्परामा विश्वकर्मा ज्यावलका देवता मानिन्छन् । पर्वका अवसरमा स–साना मेसिनरी सामानदेखि ठुल्ठूला यान्त्रिक उपकरणका धनीले विश्वकर्मा देवताको पूजाआराधना गर्ने परम्परा छ । यस अवसरमा कैयन ठाउँमा मेला आयोजना गरी नाचगानसहित सांस्कृतिक उत्सव गरिन्छ । आज मेसिनरी पार्टस्का व्यापारिक प्रतिष्ठानमा कामदारलाई मिष्ठान्न भोजन गराउने, लाभांश दिने र तलब वृद्धि गरिदिने चलन छ ।

आजको दिन मेसिनरी पार्टस्, यान्त्रिक उपकरण र कृषि ज्यावल धोइपखाली तिनको पूजा गर्ने चलन छ । आज विश्वकर्मा देवताको पूजाआराधना गर्दा ज्यावल बढी टिकाउ हुने, राम्रो कमाइ दिने र कारोबारमा सफलता मिल्ने विश्वास गरिन्छ ।

त्यसैगरी भदौ शुक्लपक्षको चतुर्दशीका दिन मनाइने मैथिल परम्पराको अनन्त चतुर्दशी पर्व पनि आजै परेको छ । यस दिन गुरु, पुरोहितका हातबाट अनन्त डोरा बाँध्दै हिन्दू मैथिल समुदायले अनन्त चतुर्दशी पर्व मनाउँदैछन् । गुरु, पुरोहितले शास्त्रोक्त विधिले अभिमन्त्रित गरेका डोरा (धागो) बाँध्दै मिथिलामा अनन्त चतुर्दशी पर्व मनाइरहेका छन् ।

भगवान् विष्णुको रूप मानिने अनन्त भगवान्को पूजाआराधना गरी प्रसादस्वरुप गुरु, पुरोहितका हातबाट कलात्मक ढङ्गबाट बाटिएको ‘अनन्त डोरा’ बाँध्ने मिथिला परम्परा छ । पर्वविशेषमा अनन्तको पूजा गर्दा पुरोहितबाट अभिमन्त्रित १४ सूत्रको बाटिएको धागो चढाइने र त्यही धागो दाहिने हातको पाखुरामा बाँधिने गरिन्छ । अभिमन्त्रित धागोलाई ‘अनन्त डोरा’ भनिन्छ ।

यस पर्वमा एक दिनअघि चोखोनितो रही भदौ शुक्लपक्ष चतुर्दशीका दिन बिहान अनन्त भगवान्को पूजाआराधना गरेर ब्राह्मण पुरोहितको हातबाट ‘अनन्तडोरा’ बाँधेपछि यो पर्व सम्पन्न गरिने मिथिला परम्परा छ । पुरोहितको हातबाट बाँधिएको ‘अनन्तडोरा’ले आपत्विपद्बाट रक्षा गर्ने, आरोग्य र सुख, समृद्घि प्राप्त हुने मैथिल जनविश्वास रहेको महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ ।

आजै चतुर्दशी तिथि सकिएर पूर्णिमा सुरु हुने भए पनि तिथिको भोगले भदौ पूर्णिमाका दिन मनाइने इन्द्र पूजनोत्सव भने भोलि बुधबार मनाइने छ । हिन्दू परम्परामा इन्द्रलाई सहकाल (सकाल)का देवता मानिन्छ । इन्द्रको पूजाआराधनाले अनिकाल नपर्ने र सन्तुलित वर्षा हुने मैथिल जनविश्वास छ । इन्द्र पूजनोत्सवका लागि महोत्तरीका बस्तीपिच्छे जसो मूर्ति स्थापना गरेर हर्ष र उमङ्गका बीच मेला आयोजना गरिएका छन् । भदौ पूर्णिमालाई मिथिलामा इन्द्र पूर्णिमा पनि भन्ने गरिएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १५४ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार
अक्टोबर ७ आक्रमणका योजनाकार हमास कमान्डर गाजामा मारिए
२०८३ कार्तिक २९, आइतबार