असार २०, २०८२ शुक्रबार July 4, 2025

रैथाने कृषि उपज र भुइँ मानिसको विकास – डा. प्रकाशचन्द्र लोहनी

व्यस्त सहरभित्रै रैथाने हाटबजारको अवधारणा एउटा प्रयोग हो र यस्ता प्रयोगबाटै हामीले सिक्न सक्नुपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

केही दीनअघि ‘रैथाने एग्री प्रोडक्ट्स नेपाल’का अध्यक्ष तिलक ढकालजीसँग भेट भयो । उहाँले दरबारमार्गमा रहेको रैथाने कृषिको आयोजनामा सञ्चालन हुने कृषि हाटबजार घुम्न आउन निमन्त्रणा गर्नुभयो । विश्व वन्यजन्तु कोषमा २० वर्ष काम गरेका तिलकजी कृषिमा नवीन सोचमा रमाउने व्यक्ति हुनुहुन्छ भने गाउँ–गाउँमा ‘होम स्टे’का पनि विशेषज्ञ नै हुनुहुन्छ । यो हाटबजार हरेक शनिबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म चल्दो रहेछ । यसका लागि राजधानीको मुटुमा रहेको दरबारमार्गजस्तो महत्वपूर्ण स्थानमा शनिबार ६ घण्टा कृषि हाटबजार सञ्चालन गर्न त्यहाँ चलेको ‘ओरियन्ट क्याफे’का सञ्चालकले आफ्नो क्याफेको ठुलो कोठा निःशुल्क उपलब्ध गराउनुभएको रहेछ । ‘आफूले पैसा कमाउनु मात्र सबै कुरो होइन, सँगसँगै अरूलाई पनि मौका उपलब्ध गराउनुपर्छ’ भन्ने चिन्तनको यो उत्साहजनक अभिव्यक्ति व्यवहारमा देखियो यहाँ । सबै आयोजकलाई धन्यवाद छ ।

रैथाने कृषि बजार घुम्दै गर्दा म निकै उत्साहित भएँ । हाम्रो देशका भुइँ तहका मान्छेले आफ्नै प्रयासबाट उन्नति गर्न खोजेको यो एउटा सानो उदाहरण थियो । हाटबजारमा २५–३० ओटा स–साना स्टल राखिएका थिए । यहाँ प्रदर्शनीमा राखिएका कृषि उपज सबै किसानले आफ्नै खेतबारीमा उत्पादन गरेको हुनुपर्ने र विषादी प्रयोग नगरेको हुनुपर्ने नियम रखिएको रहेछ ।

स्टलहरूमा चौँरीको मखनदेखि कुभिन्डो, तरकारी, केराको बुंगो, सिस्नोको सुप र मःमदेखि विभिन्न घरमा काम लाग्ने स्थानीय उत्पादन जाम, अचार, बदामको नौनी र बाँस, बेत र अल्लोबाट निर्मित विभिन्न सामान सजाएर रखिएका थिए । मलाई बताइएअनुसार यी सबै सामान कृषकले आफ्नो खेतबारीबाट उत्पादन गरेर त्यसमा सीप थपेर यहाँ ल्याउँछन् र स्टलमा सजाएर राख्छन् । बिचमा बिचौलियाको कुनै भूमिका रहँदैन । साथै, अधिकांश स्टलमा युवा–युवतीहरू बसेका देखिन्थे । तीमध्ये अधिकांश राजधानीका विभिन्न क्याम्पसमा पढ्दै र घरबाट बेच्न पठाएका सामान बेचेर थोरबहुत आम्दानी पनि गर्दै रहेछन् । एकदिन मात्रै भए पनि यिनीहरूले व्यावहारिक व्यापारको अनुभव बटुलेको देखियो । जुन पक्कै पनि भविष्यको सफलताका लागि ठुलो जग हुन सक्नेछ ।

रैथाने हाटबजारमा कुभिन्डो र बुंगो पनि बेच्न राखिएका थिए । कुभिन्डो त कसले पो किन्ला र ? मनमा कुतूहल लाग्यो । स्टलमा किसान अगस्थीलाई सोधेँ पनि । के यो कुभिन्डो र बुंगो पनि बिक्री हुन्छ ? उनको मुखमा अचानक खुसी छायो । उनले भने– मेरो बारीमा थुप्रै कुभिन्डो फल्छ । यसलाई के गर्ने भन्ने लागेको थियो । यो रैथाने हाटबजारमा राखेँ । अब मेरो कुभिन्डो बिक्रीको कुनै समस्या छैन । हरेक साता गाउँबाट ल्याएर बेच्छु । व्यापार देख्दा उनी दंग छन् । उनको हाँसो देख्ता म पनि दंग परेँ । त्यस्तै रसुवा र नुवाकोट सिमानाका कृष्ण स्याङ्ताङ पनि दंग छन् । करिब ४० वर्षका युवा स्याङ्ताङ त्यहाँ सिस्नुको सुप र मःम बेच्दै छन् । यससँगै उनी सिस्नोको धुलो पनि बेच्दै छन् । उनी गर्वसाथ हाँसेर भन्छन्– डाक्टर साब, अब म मेरो गाउँमा सिस्नोको आधुनिक फार्म खोल्दै छु । उनको आत्मविश्वास देख्दा म विश्वस्त छु, उनी अवश्य सफल हुनेछन् र एक प्रतिभाशाली उद्यमी बनेर उभिनेछन् ।

रैथाने हाटबजार विस्तार हुन सक्छ, तर ठाउँ छैन । यसका दुई उपाय छन् । पहिलो, शनिबार जब सडक खाली रहन्छ । यस्तो वेला प्रत्यक्ष किसानको सहभागितामा चलेको कृषि हाटबजारका लागि सीमित समय बेच्न र पार्किङ गर्न ठाउँ दिने । यो प्रक्रिया विश्वका विकसित भनिएका देशमा पनि चलेको छ । नेपालमा गर्न नहुने होइन । मेयर बालेन साहले विचार गर्नु राम्रो हुनेछ ।

दोस्रो, दरबारमार्गमा अन्य सरकारी संस्थानले शनिबार आफ्नो पार्किङ गर्ने खाली ठाउँलाई केही घण्टा (बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म) मात्र कृषि हाटबजार सञ्चालन गर्न दिए कसो होला ? हाल उपलब्ध ठाउँ निजी व्यापारी कम्पनीले उदारतासाथ केही घण्टालाई उपलब्ध गराउन सक्छ भने सरकारी संस्थानले किन नसक्ने ? व्यस्त सहरभित्रै रैथाने हाटबजारको अवधारणा एउटा प्रयोग हो । यस्ता प्रयोगबाटै हामीले सिक्न पनि सक्नुपर्छ ।

चीनमा माओको सांस्कृतिक क्रान्तिपछि अर्थतन्त्र एकदमै निराशाजनक अवस्थामा पुगेको थियो । देङ स्याओ पेंगले दक्षिणी प्रान्तको एक गाउँमा एउटा नयाँ प्रयोग गरेर हेरे । राज्यलाई किसानले बुझाउनुपर्ने उत्पादन कोटा बुझाएपछि जमिनमा किसानले बजारमा जे बिक्छ, त्यसको खेती गर्ने छुट पाए । यो एउटा नीतिमा परिवर्तन गर्दा त्यस ठाउँमा उत्पादन ह्वात्तै बढ्यो । नीति परिवर्तन भएपछिका आठ वर्षमा (१९७८—१९८५) गहुँको उत्पादन चार करोड टनबाट बढेर झन्डै नौ करोड टन पुग्यो । यो अनुभवलाई राष्ट्रव्यापी रूपमा विस्तार गरियो । अहिले चीनको कृषि उत्पादकत्व अन्य देशका लागि उदाहरणीय बनेको छ ।

त्यहाँ एउटै नीतिले सबै परिवर्तन भएको होइन । तर, यसबाट शिक्षा लिएर गरिएका निर्णयले चीनको कृषि प्रयासमा देङले ठुलो योगदान गरे । नेपालमा पनि विगतमा केही गर्न खोजिएको हो । यसमा मेरो सानो अनुभव बताउँछु । म कृषक होइन र कृषि कर्ममा मेरो अनुभव छैन । तर, एउटा अर्थ–राजनीतिज्ञको हैसियतले के बुझेको छु भने उत्पादन बढाउन उत्पादनका शक्ति अर्थात् किसानलाई मिहिनेत गरेपछि फाइदा हुन्छ भन्ने विश्वास दिलाउनैपर्छ । सिद्धान्त र व्यवहार दुवैले यही भन्छ ।

यस सिलसिलमा २०५० को दशकमा म तीन–चार महिना कृषिमन्त्री थिएँ । माछाको उत्पादन बढाउने कुरा आयो । म जनकपुर गएँ । थुप्रै साना किसानका पोखरी हेरेँ । माछा विकास केन्द्रमा बुझेँ तर आकर्षक बजार छैन । त्यस बखतको कृषि मन्त्रालयमा प्रयोगका रूपमा माछाकिसानको माछा बिक्री सहकारी बनाउने र उक्त सहकारीलाई नेपाल सरकारले सहुलियत ऋण र अनुदानमा चिसो ट्रक (रेफ्रिजेरेसन भ्यान) उपलब्ध गराउने । अनि सबै साना किसानबाट माछा किनेर किसानको सहकारीले काठमाडौंमा बेच्ने । यसका लागि ठाउँ र सुविधा कृषि मन्त्रालयले दिने । यो कार्यक्रम तय त गरियो, दुर्भाग्यवश यो कार्यक्रम लागू गर्ने क्रममा हामीले सरकार छोड्ने स्थिति आयो ।

पछि आउनेले यो योजनाबारे बिर्से । अर्थात्, यस्ता थुप्रै नीतिगत सुधार र मिहिन कामको आवश्यकता छ, भुइँ तहका किसानको उत्पादन बढाउन, बिकाउन र उनीहरूको जीवनस्तर माथि उस्कान । अब थोत्रा पुराना क्रान्तिकारी गफ गरेर जनता ठग्ने दिन गए । आजकै तरिका हो भने नेपालका वर्तमान श्री ३ हरूले अझ लुट्लान्, तर देश कंगाल भएर अशान्तिको बाटोमा जाने पक्का छ । रैथाने बजार सञ्चालनसम्बन्धी हालसम्मका अनुभवलाई मन्थन गरेर नयाँ संस्थागत संरचना बनाउनुपर्छ । बिचौलियालाई गाली गरेर आफैँ उम्कने अवस्था अब छैन । जब सरकार जनताको हितभन्दा थोरैको हितमा केन्द्रित हुन्छ, बिचौलियाको हरेक संरचनामा उपस्थिति बढेर जान्छ । यस अर्थमा उपभोक्ता र उत्पादकबिच बिचौलिया बढेर जानु सरकार कमजोर हुनु हो । यसलाई नियन्त्रण गर्न सकिन्छ । भर्खर टुसाउँदै गरेको रैथाने हाटबजार एउटा उदाहरण हुन सक्छ । यस्ता बिउलाई बुझौँ र नयाँ दिशानिर्देश गरौँ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार