काठमाण्डाैंः पछिल्लो २४ घण्टामा थप ८२ कोभिड-१९ सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले विभिन्न २५ प्रयोगशालामा गरिएका तीन हजार ९१६ नमूना परीक्षणमा ८२ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यससँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या १६ हजार ८०१ पुगेको छ ।
प्रदेशगतरुपमा आज कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये प्रदेश नं १ मा चार, प्रदेश नं २ मा २०, वाग्मती प्रदेशमा १४, गण्डकी प्रदेशमा १५, प्रदेश नं ५ मा दुई, कर्णाली प्रदेशमा २१ र सुदूरपश्चिम प्रदेशमा छ जना रहेका छन् ।
मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार देशभरका क्वारेन्टिनमा हाल २३ हजार ७८४ रहेका छन् । आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार १७४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या १४७ रहेको छ । योसँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या आठ हजार ५८९ रहेको छ । कूल कोरोना सङ्क्रमितमध्ये ५१ दशमलव एक प्रतिशत उपचारपछि घर फर्किएका मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ रहेको छ ।
प्रवक्ता गौतमले हालसम्मको तथ्याङ्कअनुसार विश्वभर एक करोड २८ लाख ६३ हजार ७२४ कोरोना सङ्क्रमित भएका छन् । कोरोनाले पाँच लाख ६८ हजार ५२ को निधन भइसकेको छ ।
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपाल पिसिआर परीक्षण गर्ने मुलुकमा अगाडि रहेको छ । भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र अफगानिस्तानभन्दा अगाडि रहेको छ । पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले नेपालमा हालसम्मका कोरोना सङ्क्रमितमध्ये शुन्य दशमलव तीन प्रतिशतमा मात्र केही लक्षण देखिएको बताए ।
ती लक्ष्यणमध्ये ज्वरो आउने, खोकी लाग्ने मात्र छ, अन्य गम्भीर खाले बिरामी नभएको पाइएको बताए । हालसम्म मृत्यु भएकामध्ये ०.२१ प्रतिशत पर्छ । यीमध्ये २४ जनामा दीर्घ रोगीको समस्या रहेको देखिएको छ । खासगरी ५० वर्षभन्दामाथि उमेरका व्यक्तिको निधन भएको पनि डा पाण्डेले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया