असार २३, २०८२ सोमबार July 7, 2025

अमेरिकामा कोरोना संक्रमण आश्चर्यजनक रूपमा वृद्धि, एकैदिन ७७ हजार बढी संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः  संयुक्त राज्य अमेरिकामा नोवल कोरोना भाइरसको संक्रमण आश्चर्यजनक रूपमा वृद्धि भएको छ । अघिल्लो महिना कम देखिएको भाइरसको संक्रमण जुलाईको सुरूबाटै तीब्रगतिमा बढ्दै गएपछि परिस्थिति थप भयावह अवस्थामा पुगेको सरोकारवाला निकायहरूको ठम्याई छ ।

आज एकैदिन ७७ हजार भन्दा बढी मानिसमा संक्रमण देखिएको छ । यो संख्या अमेरिकामा कोरोना महामारी सुरू भएयताको हालसम्मकै उच्च हो । कोरोना भाइरसबाट संक्रमित हुने नयॉ विरामीको संख्या केही दिनयता अमेरिकामा ह्वात्तै बढेको छ । यद्यपि मृत्यु हुनेको संख्याभने स्थिर प्राय: छ ।

पछिल्लो समय क्यालिफोर्निया, फोलोरिडा, टेक्सास् लगायतका राज्यमा भाइरसको संक्रमण अत्याधिक मात्रामा फैलिन थालेपछि मानिसहरू त्रसित भएका छन् । कोरोना भाइरसको संक्रमण सुरू भएयता हालसम्म अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या १ लाख ४० हजार नाघेको छ ।

तीब्रगतिमा बढिरहेको भाइरसको संक्रमणबाट अहिलेसम्म अमेरिकामा ३६ लाख ६० हजार बढी व्यक्ति संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमण सम्बन्धि अफिसियल डाटा अपडेट गर्दै आइरहेको न्युजब्रेकका अनुसार कोभिड-१९ को संक्रमणका कारण विश्वको सवैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा आज करीव ९ सय ५० जनाको मृत्यु भएको छ ।

अघिल्लो दिन २४ घण्टाको अवधिमा झण्डै तेही हाराहारीमा ज्यान गएको थियो । यसैगरी केही दिनयता संक्रमितको संख्यामा असामान्य ढंगले वृद्धि भइरहेको अमेरिकामा आज २४ घण्टाको अवधिमा ७७ हजार २ सय ५० बढी व्यक्तिहरूमा कोरोना भाइरसको संक्रमण भेटिएको छ भने अघिल्लो दिनको संक्रमित संख्या करीव ७० हजारको वरपर रहेको थियो । उल्लेखित तथ्यांकहरूका अनुसार कोरोना भाइरसको संक्रमण फैलिएको अमेरिकाका ५० वटै राज्यहरू मध्ये पछिल्लो समय २६ वटा राज्यमा बढीमात्रामा नयॉ विरामीहरू फेलापरिरहेका छन् । यद्यपि सवैभन्दा बढी मानवीय क्षति खेप्नुपरिरहेको न्युयोर्कमा मात्रै अमेरिकाकै धेरै करीव ३२ हजार २ सय ५० जनाको मृत्यु भएको छ भने झण्डै ४ लाख १० हजार मानिस संक्रमित भएका छन् । न्यूयोर्कमा नेपालीहरूकोसमेत बाक्लो बसोबास रहेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म अमेरिकामा १६ जना नेपालीहरूको ज्यान गइसकेको छ भने सयौंको संख्यामा नेपालीहरू संक्रमित रहेको यहॉका विभिन्न सामाजिक संघसंस्थाहरूले उल्लेख गरेका छन् ।

यता क्यालिफोर्नियामासमेत कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ हजार ५ सय नाघेको छ भने झण्डै ३ लाख ६५ हजार मानिसमा संक्रमण देखिएको छ । अघिल्ला साता दिनहुँ ५० हजारको हाराहारीमा कोरोना संक्रमित फेला पर्दैआएकोमा केही दिनयता ७० हजार माथिको संख्यामा नयॉ विरामीहरू देखापरिरहेका छन् । बढ्दो कोरोना संक्रमणसँगै यहॉका सर्वसाधारण नागरिकहरू निकै त्रसित र भयवित देखिन्छन् ।

कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म संसारभर झण्डै ६ लाख मानिसको मृत्यु भएको छ भने संक्रमितको संख्यासमेत एक करोड ४० लाख नाघेको छ । अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागका अनुसार यहॉ दैनिक करीव ८ लाख व्यक्तिमा कोरोना भाइरस सम्बन्धि स्वास्थ्य परीक्षण गरिदै आएको कुरा उल्लेख गरिएको छ । अमेरिकामा अहिलेसम्म करीव सॉढे ४ करोड मानिसको स्वास्थ्य जॉच गरिएको बताइएको छ ।

यसैगरी १० लाख ४० हजार बढी संक्रमित ठिक भइसकेका छन् । आगामी दिनमा कोरोना भाइरसको महामारीबाट अमेरिका अझै बढी प्रभावित हुनुकासाथै संक्रमितहरूको संख्या समेत दैनिक एक लाख बढी पुग्न सक्ने यहॉका स्वास्थ्य क्षेत्रका विज्ञहरूले चेतावनी दिएका छन् । अमेरिकामा अघिल्ला केही साताहरूमा कोरोना भाइरसको संक्रमण कमीहुदै जादा विभिन्न राज्यका सरकारहरूले खुलाउदै लगेका व्यापार व्यावसाय तथा कार्यालयहरू पुन: भाइरसको संक्रमण अत्याधिक गतिमा बढ्नथालेपछि अत्यावश्यक क्षेत्रवाहेक अन्यलाई आफ्ना कामकारवाही सीमित गर्न निर्देशित गरिरहेका छन् । कोरोना संक्रमणबाट अमेरिकाका ख्यातिप्राप्त डाक्टर, वकिल, गायक, पुलिस अफिसर लगायत कयौं महत्वपूर्ण व्यक्तिहरूको ज्यान गइसकेको छ ।

यसैबीच कोरोना भइरसबाट उत्पन्न संकट मोचनका लागि गत अप्रिलमा अमेरिकाको इतिहासमै सर्वाधिक राशीको झण्डै २ ट्रिलियन डलर बढीको आर्थिक सहायता प्याकेज ल्याइसकेको सरकारले पुन: सोही हाराहारीमा राहत पयाकेज ल्याउने तयारी गरेको छ । यसअघि वार्षिक ७५ हजार डलरभन्दा कम आम्दानी हुने प्रत्येक वयस्क मानिसलाई १२ सय डलर आपतकालिन राहत स्वरूप दिइएकोमा अब आउने राहत प्याकेजले प्रतिव्यक्ति २ हजार डलरसम्म वितरण गर्ने कार्योजनालाई समेट्न सक्ने सम्बन्धित अधिकारीहरूले उल्लेख गरेका छन् । हाल अमेरिकामा ३३ करोड बढी जनसंख्या रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया