काठमाडौँ, ८ मङ्सिर : नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले आज मुस्ताङ जिल्लास्थित मुक्तिनाथ मन्दिरको भ्रमण गर्नुभएको छ ।

सो अवसरमा उहाँले मुक्तिनाथ मन्दिरमा पूजाअर्चनासहित दर्शन गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाल र भारतका हिन्दू एवं बौद्ध धर्मावलम्बीले मुक्तिनाथको पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् । प्रत्येक वर्ष हजारौँ भारतीय दर्शनार्थी मुक्तिनाथको दर्शनका लागि आउने गरेका छन् ।

आजै, भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदीले पोखरास्थित श्री पश्चिम पृतना मुख्यालयको भ्रमण गर्नुभएको छ । उहाँलाई पृतनापति उपरथी सन्तोष बल्लभ पौडेलले पश्चिम पृतनामा स्वागत गर्नुभएको थियो ।

नेपाली सेनाको निमन्त्रणामा उहाँ बुधबार नेपाल भ्रमणमा आउनुभएको हो । बिहीबार उहाँले राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ महारथीबाट सुशोभित हुनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया