काठमाण्डौंः पहिरोका कारण गोरखा–आँबुखैरेनी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ ।
उक्त सडकखण्डको आठकिलो भन्ने स्थानमा दुई ठाउँमा खसेको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो ।
लगातार परेको वर्षाका कारण गोरखा–आँबुखैरेनी सडकखण्डको बाह्रकिलो क्षेत्रमा पनि पहिरो खस्दा सडक भासिएको प्रहरी नायब उपरीक्षक खतिवडाको भनाइ छ ।
सडकमा पहिरो खसेपछि गोरखा प्रवेश गर्ने मुख्य नाका नै बन्द भएको छ । सडक अवरुद्ध भएपछि आँबुखैरेनीबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेका सवारीसाधन उतैतर्फ रोकिएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताउनुभयो । निरन्तर पानी परिरहेकाले पहिरो हटाउनसमेत समस्या भएको उहाँले जानकारी दिनुभयो ।
पानी रोकिनेबित्तिकै पहिरो हटाउने तयारी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले बताउनुभयो । आइतबार पनि ठूलो पहिरो खसेर सो सडकखण्ड अवरुद्ध भएको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया