असार २४, २०८२ मंगलबार July 8, 2025

रविसहित ५१ जनालाई प्रतिवादी बनाउन सिफारिस

प्रतिवेदनमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीन अभियोगमा मुद्दा चलाउन सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लेखनाथ, पुस २ गते । कास्की प्रहरीले सूर्यदर्शन सहकारीको ठगीबारे तीन महिनाभन्दा बढी समयको अनुसन्धानपछि सोमबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा प्रतिवेदन बुझाएको छ । मङ्सिर २७ गते थपिएको पाँच दिनको म्याद सकिनुअघि नै प्रहरीले सोमबार दिउँसो प्रतिवेदन बुझाएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित गोर्खा मिडिया प्रालिका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्बल्सका सञ्चालक रामबहादुर खनाल, जिबी एन्ड ग्रुपकी कर्मचारी लीला पछाई र सहकारीका पूर्वसञ्चालक कृष्ण गुरुङलगायतमाथि अनुसन्धान गरी प्रतिवेदन बुझाएको हो ।

यसअघि कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भई विचाराधीन रहेका १९ जनाविरुद्ध पनि अनुसन्धान गरी पूरक प्रतिवेदन बुझाइसकिएको छ । सूर्यदर्शन सहकारी प्रकरणका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले पूरक प्रतिवेदन मङ्सिर २६ गते र थप प्रतिवेदन सोमबार बुझाइएको जानकारी दिनुभयो ।

प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ । “६५ जनाविरुद्ध अनुसन्धान गरेकोमा ५१ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेका छौँ,” प्रनाउ शर्माले भन्नुभयो, “विपक्षी बनाइएकामध्ये कास्की प्रहरीको हिरासतमा पाँच जना र नौ जना

पुर्पक्षका लागि थुनामा हुनुहुन्छ ।” प्रतिवेदनमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीन अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको छ ।

अनुसन्धान भएका बाँकी व्यक्तिको ठेगाना नखुलेकाले खुलेका बखत प्रतिवादी बनाएर मुद्दा अघि बढाउने तयारी छ । प्रहरी प्रतिवेदनमा एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपियाँ बिगो मागदाबी लिन सुझाइएको छ । प्रहरीले प्रतिवादी बनाएकामध्ये ३७ जना अझै फरार छन् । सूर्यदर्शन सहकारीको अनुसन्धानका लागि कास्की प्रहरीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि सघाएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले दुवै प्रतिवेदन प्राप्त भएको र ती प्रतिवेदन अनुसन्धानका क्रममा रहेको उल्लेख गर्नुभयो । ती प्रतिवेदन अध्ययन, विश्लेषण गरी पहिलो चरणमा कार्यालयले मुद्दा चल्ने वा नचल्ने निर्णय लिने छ । “मुद्दा चल्ने निर्णय भएमा प्रहरी प्रतिवेदनका आधारमा अभियोगपत्र तयार हुन्छ,” काफ्लेले भन्नुभयो, “भोलि (मङ्गलबार) नै प्रतिवेदन तयार हुने अवस्था छैन । प्रतिवेदन तयार गर्न हामीलाई आवश्यक म्याद प्राप्त हुने अपेक्षा गरेका छौँ ।”

लामिछानेसहित पाँच जनाविरुद्ध थपिएको पाँच दिनको म्याद सोमबारै सकिएको छ । मङ्गलबारबाट बढीमा चार दिनभित्र अभियोगपत्र बुझाइसक्नुपर्ने कानुनी बाध्यता छ । मङ्गलबार उनीहरूलाई म्याद थपका लागि अदालत लैजाने तयारी छ । अनुसन्धान गरिएका तीन अभियोगमध्ये सबैभन्दा बढी सम्पत्ति शुद्धीकरणमा तीन महिनाभित्र अभियोजन गर्नैपर्ने कानुनी व्यवस्था छ । सूर्यदर्शनको पूरक अनुसन्धानमा सबैभन्दा पहिले पूर्वउपाध्यक्ष छविलाल जोशीलाई असोज ६ गते पक्राउ गरेको थियो ।

जोशीसँगै सबैलाई अभियोजन गरिने हुँदा पुस ५ गतेभित्र सरकारी वकिल कार्यालयले अभियोगपत्र अदालतमा बुझाइसक्नु पर्छ । प्रहरीले अनुसन्धानका क्रममा लामिछानेले विभिन्न सहकारीलाई ऋण तिर्न काटेको चेक पनि बरामद गरेको थियो । सांसद सूर्य थापा नेतृत्वको संसदीय समितिको प्रतिवेदनले सूर्यदर्शन सहकारीबाट पाँच करोड ५८ लाख गोर्खा मिडियामा गएको उल्लेख गरेको छ ।

लामिछानेलगायतलाई पोखराको सूर्यदर्शन, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी र नेपालगन्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोग छ । देशभरका सहकारीबाट ६५ करोड गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको छ । गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहनुभएका लामिछानेलाई कात्तिक २ गते प्रहरीले काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याएको थियो । लामिछानेको नाममा सूर्यदर्शन सहकारीबाट एक करोड रकम जम्मा भएको देखिएको छ ।

सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर भएपछि अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छाड्ने वा साधारण तारिखमा छाड्नेमध्ये एक आदेश आउने छ । रविलाई धरौटी वा साधारण तारिखमा छाड्ने आदेश भए अन्यत्रका चार सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएकाले प्रहरीले उहाँलाई हिरासतमै राख्न सक्ने छ । पाँच वटै ठाउँमा लामिछानेको बयान लिइसकिएको छ । यो अवधिमा लामिछानेलगायतलाई सात पटक म्याद थप गरी अनुसन्धान भएको छ । गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार