श्रावण १९, २०८३ मंगलबार August 4, 2026

नेपाली चलचित्र ‘बम बहादुर’ देशभर प्रदर्शन

चलचित्रमा सौगात मल्लको प्रमुख भूमिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाली चलचित्र ‘बम बहादुर’ आजबाट नेपालभर प्रदर्शनमा आएको छ। चलचित्रले विशेष गरी भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको ऐतिहासिक सङ्घर्ष र जीवनका पलहरूलाई पर्दामा उतारेको छ।

१९८० को दशक, अर्थात् आजभन्दा करिब ३८ वर्षअघि भएका घटनाहरूमा आधारित यो चलचित्रले त्यति बेलाको सामाजिक र राजनीतिक पृष्ठभूमिलाई चित्रण गर्दै भारतीय नेपाली समुदायले भोगेको सङ्घर्षलाई सजीव रूपमा प्रस्तुत गरेको छ। निर्देशक जोन राईका अनुसार, यो चलचित्र भारतका नेपाली समुदायको इतिहासलाई डिजिटल दस्ताबेजको रूपमा संरक्षित गर्ने उद्देश्यले निर्माण गरिएको हो।

बिस्ट ब्रदर्स फिल्म्स प्रा.लि.को निर्माणमा बनेको ‘बम बहादुर’का निर्माता सञ्जीव सार्कीले आजका र भोलिका पुस्ताले आफ्नो इतिहास बिर्सिन नहुने उद्देश्यले यो चलचित्र निर्माण गरेको बताए। चलचित्रमा सौगात मल्लको प्रमुख भूमिका रहेको छ। साथै, प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिष्ट कार्की, सुरेश पन्चकोटी, प्रभात पाख्रिन, बादल क्षेत्री, र धीरज चाम्लिङलगायतको अभिनय रहेको छ।

नेपाली चलचित्र ‘बम बहादुर’ नेपालभर रिलिजचलचित्रको कथा र पटकथा जोन राई र रुपेश तामाङले लेखेका हुन् । छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् भने सम्पादन ज्ञान गुरुङले गरेका छन्। दीपङ्कर सिंह मुखियाको सङ्गीत र गीत रहेको यो चलचित्रको म्युजिक एरेन्जमेन्ट तथा ब्याकग्राउन्ड स्कोर इजाज अलीले तयार पारेका छन्।

चलचित्रका लाइन प्रोड्युसर प्रकाश हमाल, कलरिस्ट कुनाल कुँवर, साउन्ड मिक्सर मुकेश शाह हुन्। वितरणको जिम्मा रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन् । पोस्ट प्रोडक्शन नेपालमा क्लासिक सिने युनिभर्स र भारतमा हिलिङ अक्टेभ्ज स्टुडियोमा गरिएको हो।

निर्देशक राईका अनुसार, यो चलचित्र नेपाली समुदायको ऐतिहासिक र सांस्कृतिक महत्वलाई बुझेका दर्शकहरूको लागि मात्र होइन, भारत र नेपालका युवा पुस्तालाई आफ्नो पहिचान र इतिहासबारे जानकारी दिन पनि महत्त्वपूर्ण छ। चलचित्रले नेपाली समुदायको संघर्ष र पहिचानको कथा सम्झनामा सुरक्षित राख्ने उद्देश्य बोकेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया