असार २४, २०८२ मंगलबार July 8, 2025

रवि, छविसहित ४४ जनाविरुद्ध मुद्दा

सहकारी ठगी, सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरणसहित राष्ट्र बैङ्क ऐनविरुद्धको कसुरमा अभियोगपत्र दायर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लेखनाथ, पुस ८ गते । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध आइतबार मुद्दा दायर भएको छ ।

कास्की जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अभियोगपत्र दर्ता गराएको हो । ३१ व्यक्ति, आठ कम्पनी र जफत प्रयोजनका लागि पाँच व्यक्ति गरी ४४ जना प्रतिवादी कायम भएका छन् । कास्की प्रहरीले गएको पुस २ गते सरकारी वकिल कार्यालयलाई बुझाएको प्रतिवेदनमा ५१ जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको थियो । गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहनुभएका लामिछानेसहित पूर्वउपाध्यक्ष छविलाल जोशी, जिबी एन्ड कम्पनीकी कर्मचारी लीला पछाई र रामबहादुर खनाललाई सम्पत्ति शुद्धीकरण अभियोगसमेत लगाइएको छ । सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ भने १९ जनाविरुद्ध सङ्गठित अपराध अभियोगमा कारबाही चलाउन माग गरिएको छ ।

सरकारी वकिल कार्यालयकी सूचना अधिकारी शान्तिदेवी शर्माले कसुर अनुसार फरक फरक मागदाबी लिइएको जानकारी दिनुभयो । “सहकारी ठगी, सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरणसहित राष्ट्र बैङ्क ऐनविरुद्धको कसुरमा अभियोगपत्र दायर गरिएको छ,” शर्माले भन्नुभयो, “शुक्रबार थप अभियोगपत्र दर्ता गरेका थियौँ, आइतबार पूरक अभियोगपत्र दर्ता भयो ।”

सूर्यदर्शन प्रकरणमा मूल अभियोग र पूरक अभियोग गरी ६३ जनालाई प्रतिवादी कायम गरिएको छ । यो अभियोगमा गितेन्द्रबाबु (जिबी) राईसहित देवेन्द्रबाबु राई, विज्ञान राई, दीपेशकुमार पुन, नेत्रपाणि बास्तोला, आरती गुरुङ, लीलाबहादुर गुरुङलगायतलाई प्रतिवादी बनाइएको छ । यस्तै पेशलकुमार राई, कृष्णबहादुर गुरुङ, विश्वविक्रम राई, विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्तबाबु राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पनाकुमारी श्रेष्ठ, ज्ञानबहादुर बम्जन, मीना गुरुङ, सूर्यध्वज न्यौपाने, देवकुमार नेपाली, शकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ, रितु ताम्राकार र लक्ष्मीप्रसाद पौडेललाई पनि मुद्दा दायर भएको छ ।

लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपियाँको स्रोत नखुलेको दाबीसहित सम्पत्ति शुद्धीकरण अभियोग छ । जोशीविरुद्ध भने ७४ करोड ३४ लाख सात हजार १५५ रुपियाँ यो अभियोगमा बिगो कायम गरिएको छ । लामिछानेकी पत्नी निकिता पौडेल, जोशीकी पत्नी पद्मा, छोरा रोचकलगायत पाँच जनालाई सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ । जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले आइतबार अभियोगपत्र दर्ता गर्न मात्र सकिएको उल्लेख गर्नुभयो । “दर्ता प्रक्रिया सकियो । हामी मिसिल अध्ययनमै छौँ,” अधिकारीले भन्नुभयो, “सोमबार प्रतिवादीको बयान सुरु हुन्छ । बयान सकिएपछि थुनछेक बहस आरम्भ हुन्छ ।”

अभियोगपत्रमा एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपियाँ बिगो मागदाबी लिइएको छ । संसदीय समितिको प्रतिवेदनले सूर्यदर्शन सहकारीबाट पाँच करोड ५८ लाख गोर्खा मिडियामा गएको उल्लेख गरेको थियो । देशभरका सहकारीबाट ६५ करोड गोर्खा मिडिया नेटवर्कमा लगी दुरुपयोग हुँदा लामिछाने त्यसको प्रबन्ध निर्देशक हुनुहुन्थ्यो । लामिछानेको नाममा समेत सूर्यदर्शन सहकारीबाट एक करोड रकम जम्मा भएको देखिएको छ ।

देशका मुख्य सहरहरूमा सहकारी खोली बचत र सेयर रकम हिनामिना गर्नेसहित ३७ प्रतिवादी फरार छन् भने नौ जना पुर्पक्षका लागि थुनामा छन् । शुक्रबार यसअघि अदालतबाट मुद्दा चलेका जिबीसहित १९ जनाविरुद्ध पूरक अभियोगपत्र दर्ता भएको थियो । सहकारी ठगीमा मात्र मुद्दा चलाइएका उनीहरूविरुद्ध सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग थपिएको छ ।

रविको सांसद पद निलम्बन हुने

रास्वपा सभापतिसमेत रहनुभएका प्रतिनिधि सभा सदस्य रवि लामिछानेको सांसद पद निलम्बन हुने भएको छ । सहकारी ठगी तथा सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएपछि उहाँको सांसद पद स्वतः निलम्बनमा परेको हो । यस विषयमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेविरुद्ध मुद्दा दर्र्ता भएको संसद् सचिवालयलाई सूचना पठाइसकेको छ भने उक्त सूचना संसद् सचिवालयमा पुगिसकेको बुझिएको छ । सम्पत्ति शुद्धीकरण ऐन अनुसार लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बताउनुभयो ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ (संशोधनसहित) को दफा (२७) बमोजिम पद निलम्बन हुने भएको हो । ऐनमा भनिएको छ, “प्रचलित कानुनबमोजिम स्थापित सङ्गठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐनबमोजिम थुनामा रहेकामा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिने छ ।”  गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार