असार २४, २०८२ मंगलबार July 8, 2025

शेरा दरबारको १८४ रोपनी कम्पनीको कब्जामा

ऐतिहासिक शेरा दरबारको एक सय ८४ रोपनी जग्गा अनुसन्धानको घेरामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नुवाकोटको विदुरस्थित ऐतिहासिक शेरा दरबारको एक सय ८४ रोपनी जग्गा भूमाफियाको कब्जामा परेको छ। विदुर नगरपालिका–२ मा रहेको सो जग्गा नेपाल ट्रस्टका नाममा आउनुपर्नेमा भू–माफियाको कब्जामा परेको हो। पृथ्वीनारायण शाहले गर्मीयाममा आफ्नो समय बिताउन भनी उक्त दरबार बनाउन लगाएको इतिहासमा उल्लेख छ।

हेलेन शाहबाट एक सय ८४ रोपनीको शेरा दरबार र त्यसले चर्चेको जग्गा भूमाफियाले नामसारी गरी अन्नपूर्ण फार्मिङ प्रालिका नाममा ल्याएका थिए। उक्त जग्गा अहिले प्लटिङ गरी बिक्री गर्न लागिएका बेला अनुसन्धानको घेरामा परेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उक्त जग्गाबारे अनुसन्धान गरिरहेको छ। ‘नुवाकोटस्थित शेरा दरबारमातहतमा रहेको जग्गाबारे अनुसन्धान हुँदैछ। निजी कम्पनीका नाममा गएको जग्गालाई सिआइबीले अनुसन्धान गरिरहेको छ,’ नेपाल प्रहरीका एक उच्च अधिकारीले भने।

तर सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले यो विषयमा अनभिज्ञता प्रकट गरे। ‘यो विषय मेरो जानकारीमा छैन,’ उनले भने। २०८० मंसिर १० गते सो जग्गामा अन्नपूर्ण फार्मिङको नाममा आएको थियो। त्यसका सञ्चालक काठमाडौँ बुढानीलकण्ठ स्थायी घर भएका विकेश श्रेष्ठ र उनका छोरा मनोबल श्रेष्ठ छन्।

सुरुमा सो जग्गा गौरीशंकर फार्मिङका नाममा दर्ता भएको र पछि नामसारी गरी अन्नपूर्ण फार्मिङका नाममा आएको स्रोतको दाबी छ। २०३५ फागुन १२ मा शेरा दरबार र त्यसले चर्चेको कित्ता नं. ८२, ८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५, ९७ र ९८ गरी १३ कित्ता जग्गा गौरीशंकर फार्मिङका नाममा नापी भएको थियो। सो जग्गा भूमिसुधार ऐन लागु भएपछि हदबन्दी लागु हुनुअघि शेरा दरबार र त्यसले चर्चेको जग्गा तत्कालीन राज महेन्द्र वीरविक्रम शाहका भाइ अधिराजकुमार बसुन्धराकी श्रीमती हेलेन शाह र विजयराज्यलक्ष्मी शाहको अंशमा पर्न गएको थियो। त्यसपछि हदबन्दीका कारण सो जग्गा व्यक्तिको नाममा नापी हुन नसकेर गौरीशंकर फर्मिङका नाममा गराइएको थियो। सो फार्मिङ २०२७ सालमा स्थापना भएको थियो।

त्यसपछि २०५२ सालमा सो जग्गा अन्नपूर्ण फार्मिङका नाममा आएको थियो। त्यतिबेला अन्नपूर्ण फार्मिङका सञ्चालकहरू नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी श्रेष्ठ, सोहिनी श्रेष्ठसहित चारजनाको नाममा सेयर हस्तान्तरण भएको थियो। सोही फार्मिङमा २०७३ सालमा विकेश श्रेष्ठ सेयर सदस्य भएको र अहिले सम्पूर्ण स्वामित्व लिएपछि त्यसलाई प्लटिङ गरेर बेच्न लागेको अवस्थामा राज्यले नेपाल ट्रस्टको जग्गा भएको जनाउँदै अनुसन्धान अघि बढाएको हो। अन्नपूर्ण फार्मिङका सञ्चालकको नाता सम्बन्ध उच्च राजनीतिक नेतृत्वसँग जोडिएको स्रोतको दाबी छ।

पृथ्वीनारायण शाहको समयमा राजा जाडो महिनामा नुवाकोट डाँडामा रहेको दरबार र गर्मी महिनामा तादी किनारमा रहेको शेरा बेँसी दरबारमा बस्ने गरेको इतिहास छ। पृथ्वीनारायण शाहको मृत्युपछि पनि कर्क प्याट्रिक नुवाकोटको भ्रमणमा जाँदा पनि बहादुर शाहसँग यसै दरबारमा भेट गरेका थिए। १८९७–९८ सालतिर राजा राजेन्द्र तथा रानी साम्राज्यलक्ष्मी नुवाकोट भ्रमणमा जाँदा पनि यसै दरबारमा बसेको बताइन्छ। १९०३ सालमा यस शेरा बेँसी दरबार भत्किएको थियो। दरबार भत्किएपछि भग्नावशेषमा परिणत भयो। त्यसको धेरै वर्षपछि नुवाकोट भ्रमणमा जाँदा जुद्धशमशेरले भग्नावशेषका रूपमा रहेको दरबारका बारेमा बुझ्न खोजेको इतिहासकारहरू बताउँछन्।

तत्कालीन श्री ३ जुद्धले राजा पृथ्वीनारायण शाहको ग्रीष्मकालीन दरबारको भग्नावशेष हो भनेर जानकारी पाएपछि तत्कालै पुरानो दरबार जस्तै दरबार बनाउन आदेश दिएका थिए। तर त्यसबेला पुरानो दरबार देख्ने कोही नभेटेको र पुरानो दरबारको कुनै चित्र पनि नभएकाले शेराफाँटको भव्यता तथा दरबार परिसरबाट मोहित भएका जुद्धले आफ्नै अनुमानमा दरबार बनाएको इतिहासकारहरूको दाबी छ। दरबार बनाउँदा सोही पुरानो दरबारको भग्नावशेषमा रहेका इँटाहरूको उपयोग गरिएको थियो।

दरबार तयार भएपछि त्यसको नाम शेरा राखियो। पछि त्यो दरबार शाह वंशको सम्पत्तिकै रूपमा रह्यो। यस दरबार पछिल्लो समय हेलेन शाहको नाममा आएको थियो। हेलेन शाहबाट एक सय ८४ रोपनीको यस दरबार र यसले चर्चेको जग्गा भूमाफियाका नाममा सारेर अन्नपूर्ण फार्मिङ प्रालिको नाममा आएको देखिन्छ। केही समयअघि सो जग्गामा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी केन्द्रले कब्जा गरेको भन्दै आफ्नो झन्डा गाडेको थियो। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार