असार २४, २०८२ मंगलबार July 8, 2025

पुग्दैन समितिमा गणपूरक सङ्ख्या, कानुन निर्माण सुस्त

मितिको बैठकमा सभाका सदस्यको नियमित उपस्थिति नभएपछि लामो समयसम्म विधेयकहरू विचाराधीन अवस्थामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, पुस ९ गते । जनप्रतिनिधि जिम्मेवार नहुँदा कानुन निर्माण ओझेलमा परेको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाका विषयगत समितिमा पठाइएको विधेयकमाथि छलफल गर्न बोलाइएका बैठकमा सभाका सदस्यको अनुपस्थितिले गणपूरक सङ्ख्या नपुगेर बैठक नै स्थगित गर्नु परेको छ । यसरी समितिको बैठकमा सभाका सदस्यको नियमित उपस्थिति नभएपछि लामो समयसम्म विधेयकहरू विचाराधीन अवस्थामा रहने गरेका छन् ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार स्थानीय तह उपनिर्वाचनपछि समितिमा विचाराधीन अवस्थामा रहेका विधेयकमाथिको छलफलले तीव्रता पाएको छ । यसैबिच गणपूरक सङ्ख्या नपुगेर प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक दुई पटक स्थगित भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ लगत्तै दर्ता भएका कतिपय विधेयक अझै विचाराधीन अवस्थामा छन् ।

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको पुस १ र २ गतेका लागि निर्धारित बैठक गणपूरक सङ्ख्या नपुगेर लगातार दुई पटक स्थगित भयो । पुस २ गते नै १५ मिनेटको अन्तरालमा तेस्रो प्रयासमा गणपूरक सङ्ख्या पुग्यो ।

समितिका सचिव रेखा उपाध्याय खनालले सुरुमा गणपूरक सङ्ख्या नपुगेर स्थगित भएको बैठक नियमावलीकै व्यवस्थाले केही सांसदको उपस्थितिमा अगाडि बढेको जानकारी दिनुभयो । यसपछि समितिले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल अगाडि बढायो । गणपूरक सङ्ख्या पुग्न ५१ प्रतिशत सदस्य उपस्थित हुनु पर्छ ।

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८२ मा गणपूरक सङ्ख्या नपुगेर दुई पटक स्थगित भएमा कम्तीमा एक तिहाइ सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने व्यवस्था गरिएको छ । सो व्यवस्थाबमोजिम २३ जना सदस्य रहेको समितिको बैठकमा आठ जना सदस्यभन्दा बढीको उपस्थितिले छलफल अगाडि बढाइयो ।

समितिका सभापति सन्तोष चालिसेले आगामी दिनमा कोरम (गणपूरक सङ्ख्या) को समस्या नहुने दाबी गर्दै समितिमा थाँती राखिएका विधेयकमाथि निरन्तर छलफल हुने बताउनुभयो । सो समितिमा छ वटा विधेयक छन् । “दुई वटा विधेयकमाथिको छलफल टुङ्ग्यायौँ । तीन महिनाभित्र बाँकी चार वटैको प्रतिवेदन तयार हुने गरी काम अगाडि बढेको छ,” उहाँले भन्नुभयो ।

कानुन निर्माण गर्ने उद्देश्यका साथ निर्वाचित भएका प्रतिनिधि सभा सदस्यको कानुन निर्माणमा हेलचेक््रयाइँबारे सभाका सभामुखले सार्वजनिक रूपमै पटक पटक ध्यानाकर्षण गराउनुभएको छ । यद्यपि कानुन निर्माणले तीव्रता पाएको छैन । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभामा दर्ता भएका गैरसरकारीसहित १९ वटा विधेयक विचाराधीन अवस्थामा छन् । राष्ट्रिय सभामा चार वटा विधेयक विचाराधीन छन् ।

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ फागुन १२ गते दर्ता भएको हो । समितिले सो विधेयकसम्बन्धी प्रतिवेदन गत जेठ २२ गते तयार गरिसकेको छ । आगामी अधिवेशनमा सभामा प्रस्तुत हुने छ ।

राष्ट्रिय सभामा निरन्तर छलफल

प्रतिनिधि सभा सदस्यले कानुन बनाउन तदारुकता देखाउन नसकिरहँदा राष्ट्रिय सभाले भने विधेयकको प्रतिवेदन बनाउन नियमावलीमै समयसीमा तोकेर अगाडि बढेको छ ।  राष्ट्रिय सभाको नियमावलीकै व्यवस्थाले पनि माथिल्लो सदनलाई कानुन निर्माणको पाटोमा छिटोछरितो बनाएको छ । सहसचिव मनोजकुमार गिरीले नियमावलीको व्यवस्थाले सभाबाट समितिमा आएको छ महिनाभित्रै प्रतिवेदन बुझाउनुपरेको बताउनुभयो ।

मिडिया काउन्सिल विधेयक २०८१ गत वैशाख १२ गते राष्ट्रिय सभामा दर्ता भएकोमा जेठ २८ गते छलफलका लागि समितिमा पठाइयो । नियमावलीको व्यवस्थाबमोजिम मङ्सिर २७ गते सो विधेयक समितिको प्रतिवेदनसहित सभामा पेस गर्नुपर्ने थियो ।

सहसचिव गिरीले भन्नुभयो, “अधिवेशन चलेको अवस्था थिएन । नियमावलीको व्यवस्थाले मङ्सिर २७ गतेसम्म प्रतिवेदनसहित पेस गर्नुपर्ने भएकाले सभाका अध्यक्षलाई भेटेर प्रतिवेदन बुझाएका हौँ ।”

सांसदसँगै विज्ञ कर्मचारीको ठुलो भूमिका हुने बताउँदै उहाँले दुवैबिच समन्वय र सहकार्य भएकाले राष्ट्रिय सभामा कानुन निर्माणले गति पाएको अनुभव सुनाउनुभयो । राष्ट्रिय सभामा विचाराधीन रहेका चार वटा विधेयकमध्ये दुई वटाको प्रतिवेदन तयार भएको छ । सभाको विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल विधेयक, २०८१ र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१ को प्रतिवेदन तयार गरेको छ । तिलगङ्गा नेत्र विश्वविद्यालय र नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक समितिमा छलफलका क्रममा छन् ।

राष्ट्रिय सभाबाट पारित भएका पाँच वटा विधेयक प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ को पूर्वसन्ध्यामा निष्क्रिय नै हुन पुग्यो । निष्क्रिय भएका विधेयक विधायिकी प्रक्रिया अपनाएर पुनः सभामा आउने छन् ।

कानुन अभावमा सङ्घीयताको पूर्ण अभ्यास हुन नपाउँदै सङ्घीय प्रणाली राज्यका लागि बोझ भएको भन्दै आलोचना हुँदै आएको छ । संविधान अनुसार बन्न बाँकी रहेका कानुन यथाशीघ्र बनाउन सरकारको ध्यानाकर्षण गराएको १५ महिनामा एउटै विधेयकको मसौदा तयार भएको छैन । दुई वटा विधेयकबाहेक कुनै पनि विषयको कानुन विधायिकी प्रक्रियामा प्रवेशसमेत गरेका छैनन् । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार