जनकपुरधाम, ९ पुस : आर्थिक, सामाजिक तथा शैक्षिक रूपमा पछिपरेका समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले धनुषाका विभिन्न २४ विद्यालयमा शैक्षिक अवस्थामा सुधार एवं पूर्वाधार विकास कार्य अगाडि बढाइएको छ ।
प्लान इन्टरनेशनल नेपालको पूर्वक्षेत्रीय कार्यालय जनकपुरधामको आज यहाँ आयोजित जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा संस्थाको शिक्षा परियोजनाअन्तर्गत चार वर्षअघि कार्यक्रम कार्यान्वयन भइरहेको जानकारी दिइएको हो ।
जिल्लाको विदेह, सहिदनगर, कमला र सबैला नगरपालि तथा जनकनन्दनी गाउँपालिका गरी पाँच वटा स्थानीय तहका २४ वटा विद्यालयमा कार्यान्वयन भइरहेको यस कार्यक्रममा हालसम्म रु पाँच करोड ७८ लाख खर्च भएको सो संस्थाका रुविना राउतले जानकारी दिनुभयो । संस्थाको कार्यप्रगति प्रस्तुत गर्दै उहाँले जापान सरकारको आर्थिक सहयोगमा प्लान इन्टरनेशनलद्वारा नेपालका ४२ वटा जिल्लामा शैक्षिक सुधार कार्यक्रमअन्तर्गत शैक्षिक पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, बालिकालाई सेनेटरी प्याड र औषधि वितरण, लैङ्गिक भेदभावविरुद्ध जनचेतना, शिक्षकलाई तालिम, कम्युटर प्रदान, शैक्षिक छलफल, अनुगमनलगायत कार्य भइरहेको बताउनुभयो ।
उक्त संस्थाले हाल मधेस प्रदेशका आठ वटा जिल्लाका सामुदायिक विद्यालयमा भौतिक तथा शैक्षिक सुधारकार्य अगाडि बढाउँदै लगेको त्यस अवसरमा जानकारी दिइयो ।
संस्थाका पूर्वक्षेत्रीय कार्यालय प्रमुख रविशङ्कर पण्डितले प्लान इन्टरनेशनलले आफ्नो कार्यलाई पारदर्शी तथा समाजका सबै वर्गसँग छलफल गरेर शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकासमा हातेमालो गरेर काम गरिरहेको बताउनुभयो ।
बैठकका अध्यक्ष जिल्ला समन्वय समितिका प्रमख राजनन्दन मण्डलले धनुषा जिल्लामा आर्थिक तथा शैक्षिक रूपमा पछिपरेका समुदायका बालबालिका गुणस्तरीय शिक्षाबाट वञ्चित रहकाले सम्बन्धित निकायले त्यसप्रति ध्यान दिनुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायहरूले पारदर्शी र इमान्दारीपूर्वक तोकिएको समयमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
यसअघि हिजो जिल्ला समन्वय समिति प्रमुख मण्डल तथा उपप्रमुख सङ्गीता ठाकुरको नेतृत्वमा धनुषाका विभिन्न विद्यायलमा भएका कार्यहरूको अनुगमन तथा निरीक्षण गरिएको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया