पोखरा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मंगलबार पनि बयान सुरु हुन सकेन ।
गोर्खा मिडियाका पूर्वसञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ भने गुल्मी मुसिकोट नगरपालिका–४ की लीला पछाईंबाट बयान प्रारम्भ भएको जिल्ला अदालतका निमित्त स्रेस्तेदार ख्यामनारायण लामिछानेले जानकारी दिए । पछाईंलाई जीबी राईसँग मिलेर रकम हिनामिना गरेकाले मुद्दामा प्रतिवादी बनाइएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत मुद्दाका लामिछानेसमेत पाँच जना प्रतिवादीको सोमबारदेखि कास्की जिल्ला अदालतमा बयान सुरु भएको थियो । पहिलो दिन जोशीबाट बयान सुरु भएकामा दोस्रो दिन मंगलबार पनि जोशीबाटै बयान सुरु भएको थियो ।
बयानका लागि मंगलबार बिहान ११ बजे लामिछाने, जोशी, पछाईंसहित नेचर हब्र्सका सञ्चालक तनहुँका रामबहादुर खनाललाई अदालत उपस्थित गराइएको थियो । अर्का कृष्णबहादुर गुरुङ भने मुटुको बिरामी भएकाले अदालत लगिएनन् ।
प्रतिवादीलाई विगतमा झैं गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालयबाट कडा सुरक्षा घेराबीच शहीदचोकस्थित जिल्ला अदालत लगिएको थियो ।
पहिलो दिनको बयान नसकिएकाले मंगलबार जोशीबाटै बयान प्रारम्भ गरिएको निमित्त स्रेस्तेदार लामिछानेले बताए । उनका अनुसार दिउँसो २ सम्म जोशीको बयान सकिएपछि पछाईंको बयान प्रारम्भ भएको छ ।
नेपालकै सबैभन्दा कान्छा न्यायाधीश नीतिज राईको इजलासमा भएको बयानमा पछाईंको बयान नसकिएकाले बिहीबार (भोलि) उनीबाटै बयान प्रारम्भ गरिने लामिछानेले जानकारी दिए । उनले भने, ‘यही साता (शुक्रबार)सम्म प्रतिवादीहरूको बयान सकेर आइतबारदेखि थुनछेक बहस सुरु गर्ने लक्ष्य छ, हेरौं बयान कति लम्बिन्छ ?’ उनका अनुसार पछाईंको पछि सम्भवतः लामिछानेको बयान सुरु हुनेछ ।
प्रतिवादीहरूको बयान, थुनछेक बहसपछि न्यायाधीश राईले कुनै एक आदेश दिनेछन् । जसमा पुर्पक्षका लागि थुनामा, धरौटी वा साधारण तारेखमा रिहामध्ये एक आदेश गरिने कानुनी व्यवस्था छ ।
कास्की जिल्ला अदालतमा पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा सहकारी ठगी मुद्दा विचाराधीन छ । गत वर्ष १८ असोजमा सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीबी राईसमेत १९ जनालाई प्रतिवादी बनाई मुद्दा दायर भएको थियो ।
कास्की प्रहरीको पछिल्लो अनुसन्धान प्रतिवेदनसँगै जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार र आइतबार गरी सोही मूल मुद्दामा थप प्रतिवादी बनाई पूरक अभियोगपत्र दायर गरेको हो । आइतबार दायर पूरक अभियोगपत्रमा रास्वपा सभापति लामिछाने, जोशीसमेत ४४ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये ३१ जना व्यक्ति, आठ कम्पनी छन् । अन्य पाँच जनाको सम्पत्ति जफत गर्न थप अभियोजन दर्ता गरिएको थियो ।
कुल ६३ प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो कायम गरेर दायर मुद्दामा हिरासतमा रहेका पाँच प्रतिवादीको बयान लिन थालिएको हो ।
सम्पत्ति शुद्धीकरण मुद्दासमेत चलाइएका पाँच जनामा लामिछाने, जोशी, जीबी, खनाल र पछाईं हुन् । सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक शिवबहादुर गुरुङ, प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याललगायत प्रतिवादीहरू हाल पुर्पक्षका लागि कास्की कारागारमा छन् । जीबीसमेत अधिकांश प्रतिवादीहरू भने हालसम्म फरार छन् । राजधानी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया