काठमाडौं, ११ पुस । शैक्षिक जनशक्ति विकास परिषद्को आज बसेको २७औं परिषद् बैठकले सेवा प्रवेश तालिम सहित एक दर्जन तालिम पाठ्यक्रमहरू स्वीकृत गरेको छ ।
एक महिने सेवा प्रवेश तालिम पाठ्यक्रम, एक महिने प्रमाणीकरण तालिम, शिक्षक पेसागत विकास तालिम पाठ्यक्रम स्वीकृत भएको हो । शिक्षक पेसागत विकासको प्रारूप–२०८० ले शिक्षक पेसागत विकासका विभिन्न दश ओटा विधिहरू मार्फत शिक्षकको पेसागत विकासको सुनिश्चितता गरेसँगै प्रत्येक विधिहरूलाई कार्यान्वयनमा ल्याउनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले काम अगाडी बढाएको छ ।
परिषद्को बैठकमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षक जनशक्तिको अध्ययन गरी शिक्षकको परिभाषालाई पुनर्भाषित गर्नुपर्ने बताइन । साथै तालिम पाठ्यक्रमलाई गाईडेन्स प्रिन्सिपल मानी तालिमका विषयवस्तुलाई लचिलो बनाउने, तालिम केन्द्रहरूले आफ्नो विशिष्टीकृत विशेषताहरूका आधारमा थप विषयवस्तु राख्ने, पाठ्यक्रमलाई समय समयमा शिक्षक, विज्ञ र तालिम केन्द्रहरूमा अन्तरक्रिया गरी प्राप्त सुझावका आधारमा परिमार्जन गर्नुपर्ने बताइन ।
परिषद्को बैठकमा तालिम पाठ्यक्रमले शिक्षकका कुरा विद्यार्थीले सुनेर सिक्ने भन्दा पनि विद्यार्थीको जिज्ञासा मेटाउने खालको शिक्षक तयार गरिनुपर्ने र शिक्षकले तालिम लिइसकेपछि तालिमको अपडेट कक्षाकोठामा भए नभएको अनुगमन गर्ने व्यवस्था मिलाउनु पर्ने कुरा मन्त्री भट्टराईको भनाई थियो ।
तालिम पाठ्यक्रम स्वीकृति सँगै प्रदेश शिक्षा तालिम केन्द्र मार्फत सघन रूपमा शिक्षकहरूका लागि तालिम सञ्चालन हुनेछ । तालिम सहजीकरणका लागि शिक्षा तालिम केन्द्रका प्रशिक्षक तथा रोस्टर प्रशिक्षकका लागि केन्द्रले यही पुस १६ गतेदेखि केन्द्रमा प्रशिक्षक प्रशिक्षण समेत सञ्चालन गर्ने गरि तयारी अगाडी बढाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया