असार २४, २०८२ मंगलबार July 8, 2025

एमालेमा फरक मतलाई निषेध !

पार्टीको आन्तरिक शक्ति संघर्षमा लामो समय सहकार्य गरे पनि विगत आधा दशकदेखि ओली-रावल सम्बन्ध तीक्ततापूर्ण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीसँग फरक मत राख्नेहरूको राजनीतिक ‘अवसान’को खतरा बढेको छ । लामो समयदेखि ओलीसँग फरक मत राख्दै आउनुभएका नेता डा.भीम रावल एमालेबाट निष्कासित हुनुभएको छ । त्यस्तै, पार्टी नेतृत्वसँग कार्यालय निर्माणबारे असहमति राखेकै कारण स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना निलम्बन गरिएपछि एमालेमा नेतृत्वसँग फरक मत राखेर राजनीतिक रूपमा क्रियाशील रहनै असम्भव देखिएको छ ।

एमालेको दशौँ महाधिवेशनमा अध्यक्षका लागि ओलीसँग प्रतिस्पर्धा गर्नुभएका नेता रावललाई लामो समयदेखि भूमिकाविहीन बनाइएको थियो । बुधबार बसेको एमाले सचिवालय बैठकले उहाँलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गर्‍यो । यसबाट एमालेमा पाँच दशकदेखि सक्रिय रावललाई नयाँ राजनीतिक कदमका लागि बाध्य बन्नुपरेको छ ।

पाँच वर्षअघि संसद् विघटनको सन्दर्भमा तत्कालीन नेकपामा चुलिएको विवादका दौरान एमाले नै विभाजित भए पनि रावल एमालेमै बस्नुभएको थियो । अधिकांशले एमाले विभाजनपछि रावल माधव नेपालतिर लाग्ने अनुमान गरे पनि उहाँले एमालेभित्रै लडाइँ लड्ने उद्घोष गर्नुभएको थियो । अब भने एमालेभित्रै रहेर राजनीतिक संघर्ष गर्ने सम्भावना पनि समाप्त भएको छ ।

निलम्बित स्थायी कमिटी सदस्य विन्दा पाण्डेले पार्टीले ६ महिना छुट्टी दिएकाले सिर्जनात्मक काममा व्यस्त रहने बताउनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत ६ महिनाको अवधिलाई रचनात्मक बनाउन सुझावसमेत माग्नुभएको छ । निलम्बित केन्द्रीय सदस्यले भने एमालेको पञ्चकरण भएको उल्लेख गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत पञ्चायतविरुद्ध लडेका नेताहरूले नै एमालेमा पञ्चहरूको नक्कल गरेको बताउनुभएको छ ।

ओली-रावल सम्बन्धको उतारचढाव

२०६५ साल फागुनमा बुटवलमा भएको एमालेको आठौँ महाधिवेशनमा ओलीकै प्यानलबाट उपाध्यक्षमा रावलले प्रतिस्पर्धा गर्नुभएको थियो । संविधान निर्माणपछि बनेको ओली नेतृत्वको सरकारमा रावल उपप्रधान एवं रक्षामन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो । त्यतिबेला ओलीको विश्वासपात्रको रूपमा सबैले रावललाई चिन्थे । पार्टीको आन्तरिक शक्ति संघर्षमा लामो समय सहकार्य गरे पनि विगत आधा दशकदेखि ओली-रावल सम्बन्ध तीक्ततापूर्ण रहृयो । एमाले र माओवादीबीच भएको एकतापश्चात् नेकपामा रावललाई उचित भूमिका दिइएन ।

नेकपाको सचिवालयमा समेत नपरेपछि अध्यक्ष ओलीको कटु आलोचकका रूपमा रावल प्रस्तुत हुनुभयो । नेपालमा आयोजनाको तयारी गरिएको आइफा अवार्डबारे सत्तारूढ दलकै सांसदका रूपमा रावलले कडा विरोध जनाउनुभयो । नेकपा सरकारले एमसिसी अगाडि बढाउन खोज्दा रावलले विरोध जनाइरहनु भयो । ओलीले संसद् भंग गरेपछि प्रचण्ड र माधव नेपाललाई रावलले साथ दिनुभएको थियो । एमाले ब्युँतिएपछि ओलीविरुद्ध निरन्तर लागे पनि पार्टी विभाजनमा माधव नेपाल र झलनाथ खनाललाई रावलले साथ दिनुभएन ।

सर्वोच्चको परमादेशपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले विश्वासको मत लिने बेला रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनुभएको थियो । पार्टीभित्रै रहे पनि नेतृत्वलाई निरन्तर लाञ्छित गरेको भन्दै संस्थापन पक्ष रावलसँग रुष्ट थियो । यहीकारण एमालेको सुदूरपश्चिम इञ्चार्जको जिम्मेवारी रावलबाट खोसियो । यिनै विवादको निरन्तरता महाधिवेशनसम्म पुग्यो । चितवन महाधिवेशनमा रावलले ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिनुभयो ।

एक हजार ८३७ मत ल्याउनुभएका ओलीविरुद्ध रावलले २२३ मत ल्याउनुभयो । महाधिवेशनको साढे दुई वर्षसम्म भूमिकाविहीन बनाइएका रावलले गत निर्वाचनमा संसदीय टिकटसमेत पाउनुभएन । बीचमा ओली र रावलबीच वार्ता भए पनि वार्ताले रावलको एमालेबाट निष्कासनलाई रोक्न सकेन । विवाद र संघर्षको यही शृंखलाले अन्ततः रावललाई झण्डै पाँच दशक सक्रिय योगदान गरेको पार्टीबाट अलग बनाउँदै छ ।

नयाँ पार्टी खोल्ने तयारीमा रावल
राजनीतिक वृत्तमा धेरैले रावललाई नेकपा एकीकृत समाजवादीमा जानसक्ने नेताका रूपमा चित्रित गरेका छन् । यसअघि घनश्याम भुसाल पनि एमाले छाडेर एसमा गएका कारण यस्तो चर्चा भएको हो । स्वयं रावल भने नयाँ पार्टी स्थापनाको तयारीमा रहेको बताइन्छ । एमालेले आफूलाई अन्याय गरेको र ओलीको चरित्रबारे राजनीतिक भण्डाफोर गर्न देशव्यापी यात्रामा निस्कने तयारी रावलले गर्नुभएको छ । लगत्तै नयाँ पार्टीको सम्भावना देखिन्छ । ‘एमालेमा रहने वातावरण नभएपछि समाजवादीमा जानुपर्छ भन्ने छैन । उहाँ देशव्यापी यात्रामा जानुहुन्छ । जनमत बुझ्नुहुन्छ र उपयुक्त निष्कर्षमा पुग्नुहुन्छ’, रावलनिकट एक नेताले जानकारी दिनुभयो ।

ती नेताका अनुसार पुराना राजनीतिक दलप्रति जनताको चासो घटेको बेला परम्परागत दलमा जानुभन्दा नयाँ राष्ट्रवादी शक्ति निर्माण गर्ने रावलको सोच छ । ‘पुरानै पार्टी र पुरानै सोचभन्दा माथि उठेर अगाडि बढ्न सुझाव दिएका छौँ । सही प्रयत्न गर्ने हो भने देशभरी नयाँ माहोल बन्नसक्छ’, रावलनिकट नेताको भनाइ छ । उहाँका अनुसार आफ्नो आगामी राजनीतिक यात्राबारे रावलले केही दिनमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुहुने छ ।- आजको हिमालय टाइम्स दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार