कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश : मन्त्री अधिकारी

अध्यादेशमा सूचना केन्द्र र बचत सुरक्षण कोष नेपाल राष्ट्र बैङ्क अन्तर्गतका निकायले नै हेर्ने गरी व्यवस्था गरिएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी नमिलेका ऐन, कानुन व्यवस्थापन गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याइएको बताउनुभएको छ ।

तीन खम्बे अर्थनीतिका रूपमा रहेको सहकारीप्रति फैलिएका भ्रम चिर्न सहकारीमा नयाँ व्यवस्था गर्न अध्यादेश ल्याइएको रासससँग कुरा गर्दै उहाँले बताउनुभएको हो ।

“अध्यादेशले राष्ट्रिय सहकारी विकास बोर्डलाई खारेज गरी सहकारी नियमन प्राधिकरणको व्यवस्था गरेको छ, यसले अनियमितता छानबिन गरी गलत गर्नेलाई कानुनी कारबाही गर्नेछ, दण्ड सजाय गर्नेछ, प्राधिकरणले टुङ्गो लगाउन नसक्ने विषय सम्बन्धित अदालतमा पठाउने व्यवस्था अध्यादेशमा गरिएको छ”, मन्त्री अधिकारीले भन्नुभयो ।

अहिले आएको अध्यादेशमा नमिलेका कुरा फेरि मिलाउँदै जान सकिने छ । राम्रो काम गर्ने धेरै सहकारी हुँदाहुँदै नराम्रो काम गर्ने थोरै सहकारीका कारण सहकारी क्षेत्र नै बदनाम हुन थालेकाले अध्यादेशमार्फत बन्ने प्राधिकरणले सहकारी क्षेत्रमा कानुनी रूपमा मिलाउँदै सुधार गर्ने उहाँले सुनाउनुभयो । “अध्यादेशले गरेका विभिन्न व्यवस्थामध्ये प्राधिकरण एक हो, अध्यादेशको अध्ययन नगरी अनुमानका आधारमा केही हल्ला चलाइएका छन्, त्यस्तो नगरौँ, सहकारी समस्या समाधानका लागि सुरु गरिएको यो सुधारको काममा सबैले सहयोग गरौँ”, मन्त्री अधिकारीले भन्नुभयो ।

प्राधिकरण स्वायत्त नियमन निकाय भएको उल्लेख गर्नुहुँदै उहाँले सहकारी हेर्ने मन्त्रालयअन्तर्गत हुँदैमा यसका बारेमा गलत हल्ला चलाउन नहुने बताउनुभयो ।

अध्यादेशमा सूचना केन्द्र र बचत सुरक्षण कोष नेपाल राष्ट्र बैङ्क अन्तर्गतका निकायले नै हेर्ने गरी व्यवस्था गरिएको मन्त्री अधिकारीले सुनाउनुभयो । सहकारीसम्बन्धी न्यायाधिकरण पनि छिट्टै गठन हुने उहाँको प्रतिबद्धता छ ।

“सहकारी ऐन, २०७४ अनुसार नमिलेका कुराका बुँदा मिलाउन अध्यादेश ल्याइएको हो, सहकारी ऐन, २०७४ खारेज गरिएको छैन, धेरै मेहनत गरेर बनाइएको ऐन यत्तिकै खारेज हुँदैन, सहकारी समस्या समाधानका लागि गर्नुपर्ने केही कामका आवाज यसले पूरा गरेको छ”, उहाँले भन्नुभयो ।

अध्यादेशमार्फत गरिएको व्यवस्थाअनुसार सहकारी प्राधिकरण गठन भए पनि सहकारी ऐन, २०७४ मा भएको व्यवस्था अनुसार सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीको व्यवस्थापनका लागि स्थापना भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले भने पूर्ववत् नै काम गर्ने भएको छ ।

समितिले हाल सरकारले समस्याग्रस्त घोषणा गरेका २२ वटा सहकारीको व्यवस्थापन गरिरहेको छ । तीमध्ये तीनवटा सहकारीको हिसाबकिताब राफसाफ भएको जनाइएको छ । केही पीडितको रकम गत कात्तिक १३ गते समितिले बचत फिर्ता गरेको बताउनुहुँदै मन्त्री अधिकारीले बाँकी केहीको रकम पुसको अन्तिमसम्ममा दिने तयारी भइरहेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न
२०८३ कार्तिक २६, बिहिबार
एनपीएलमा आज निर्णायक भिडन्त, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी आमनेसामने
२०८३ कार्तिक २६, बिहिबार
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
२०८३ कार्तिक २६, बिहिबार
दमौली खेलमैदान स्तरोन्नति गरिँदै
२०८३ कार्तिक २६, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २६, बिहिबार
आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २६, बिहिबार
प्रदेशसभा सदस्य खातुनले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक २५, बुधबार