असार २४, २०८२ मंगलबार July 8, 2025

कोशीमा अढाई अर्ब लगानीमा चार पदमार्ग बन्दै

स्विस सरकारसँगको साझेदारीमा पदमार्ग निर्माण हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कोशी सरकारले आगामी २०८५ सालभित्र प्रदेशका चार स्थानमा करिब अढाई अर्ब लगानीमा चारवटा पदमार्ग निर्माण गर्ने महत्त्वाकांक्षी लक्ष्य अघि सारेको छ ।

स्विस सरकारसँगको साझेदारीमा पदमार्ग निर्माण हुनेछ । यसअन्तर्गत इलाम सूर्योदय नगरपालिकामा चियाबारी पदमार्ग बन्नेछ । करिब २० किलोमिटर लामो पदमार्गले फिक्कलदेखि श्रीअन्तु जोड्नेछ । त्यस्तै ३८ किलोमिटर लामो फाल्गुनन्द पदमार्ग फिदिम–छिन्ताप्पु–सन्दकपुर–माईपोखरी हुँदै इलाम पुग्नेछ । १ सय ६० किमि लामो लालीगुराँस पदमार्ग तुम्लिङटार–खाँदबारी–नुम–गुफा पोखरी–तीनजुरे, मिल्केसम्म पुग्नेछ ।

सबैभन्दा लामो १ सय ६८ किलो मिटरको मुन्धुम पदमार्ग तावाभन्ज्याङ–ट्याम्केडाँडा–धोत्रे हुँदै हाँसपोखरी–मयुङ्डाँडासँग पुग्नेछ । यो परियोजना स्विस सरकारको १ अर्ब ३५ करोड १५ लाख, कोशी प्रदेश सरकारको ४५ करोड ८७ लाख, २९ वटा पालिकाको ४४ करोड ६७ लाख र नेपाल सरकारको १९ करोड ९२ लाखको आर्थिक साझेदारीमा अघि बढ्ने कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनाए ।

‘करिब अढाई अर्बको यो परियोजना २०८५ सालभित्रै सम्पन्न गर्ने योजनामा प्रदेश सरकार छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘यसले आन्तरिक र बाह्य पर्यटक आवागमनमा वृद्धि गर्ने र अर्थतन्त्रसमेत चलायमान बनाउने सम्भावना छ ।’

दुई साताअघि स्विस राजदूत डा. डेनियल म्युउल्यीको उपस्थितिमा पदमार्ग परियोजनामा सम्झौता भएको थियो । उक्त अवसरमा राजदूत डेनियलले पदमार्गको निर्माणपछि स्थानीय स्तरमा रोजगारी सिर्जर्ना हुनुका साथै समग्र देशमै आर्थिक उन्नति र नयाँ अवसरको सिर्जना हुने दाबी गरेका थिए ।

परियोजनाले कोशी प्रदेशलाई मात्रै नभई समग्र देशकै पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेको दाबी छ । ‘यो महत्त्वाकांक्षी योजना केवल आर्थिक लाभमा सीमित छैन,’ सचिव घिमिरेले भने, ‘यसले स्थानीय संस्कृति, प्राकृतिक स्रोत र ग्रामीण पर्यटनलाई जोड दिँदै दिगो विकासलाई टेवा पुर्‍याउनेछ ।’

यस परियोजनाको सफल कार्यान्वयनले कोशी प्रदेशलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने मात्र होइन, समग्र प्रदेशको आर्थिक र सामाजिक जीवनमा कायापलट गर्ने विश्वास गरिएको छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया